
काठमाडौं— प्रभु बैंकको रुकुम पश्चिम आठविसकोट शाखाका एक कर्मचारीले बचतकर्ताको एक करोड ३५ लाख रुपैयाँ हिनामिना गरेको प्रारम्भिक छानबिनको क्रममा भेटिएको छ ।
प्रभु बैंक बैंकको अप्रेसन इन्चार्ज पदमा कार्यरत निरजबिक्रम शाहले बचतकर्ताको करोडौं रुपैयाँ हिनामिना गरेको गुनासोपछि बैंकले आन्तरिक छानबिनसमेत सुरु गरेको छ । झुट्टा विवरण र खातावालाको जानकारी बिनै बैंकमा जम्मा गरेको रकम अपचलन गरेको पाइएपछि उक्त रहस्य खुलेको हो ।
बैंकको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख शरदराज तिमिल्सिनाको नेतृत्वको टोलीले यस घटनाको प्रारम्भिक छानबिन गरेर कर्मचारीविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ ।
प्रारम्भिक छानबिनपछि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा पुगेको टोलीले इन्चार्ज शाहले करिब एक करोड ३५ लाख रुपैयाँ हिनामिना गरेको निष्कर्ष निकालेको छ । मुद्दाको प्रकृति अनुसार जिल्लामा उक्त मुद्दा नचल्ने भएपछि उच्च अदालतमा जाने निष्कर्षका साथ बैंकको टोली गएको प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए ।
बैक स्रोतलाई उद्धृत गर्दै उनले खातावालाको रकम आफु अनुकुल निकाल्ने, अपचलन गर्ने गरेको प्रारम्भिक छानबिनमा देखिएको छ । खातामा जम्मा गर्न आएकाहरूको ठुलो रकम अहिले बैंकको सिस्टमले काम नगरेको, भिडभाड भएको लगायतका बहाना बनाउँदै पछि गर्दिन्छु भनेर फर्काउने तर आफूले प्रयोग गर्ने गरेको समेत अनुसन्धानबाट खुलेको छ ।
बैंकको आन्तरिक छानबिन टोलीले शाखामा कार्यरत सबै कर्मचारीहरूलाईसमेत कारबाहीको प्रक्रियामा लिएको छ । शाखामा कार्यरत नौ जना कर्मचारीलाई जिम्मेवारविहीन बनाएर पाँच जना नयाँ कर्मचारीको टोली खटाइएको छ ।
शाखा प्रबन्धक डम्बर गौतमका अनुसार आफू बिदामा बसेको बेला शाहले आफ्नै आईडीबाट विभिन्न व्यक्तिको खाताको ट्रान्सफर गरेको र यस अघि विभिन्न व्यक्तिहरूको रकम खातामा जम्मा गरिदिन्छु भन्दै जम्मा नगरिदिएको पाइएको छ । विश्वासको आधारमा चेक दिएका र खातामा पैसा जम्मा गर्न भनी पैसा दिएका नजिकका आफन्तहरू पनि अहिले बैंकको कर्मचारीबाट ठगिएको भन्दै गुनासो गर्ने गरेका छन् । शाह अहिले बैंकको सम्पर्कमा छैनन् ।