News Griha :: न्यूजगृह
खराब कर्जामा चुर्लुम्मै डुब्यो एनआईसी एशिया बैंक, राष्ट्र बैंकले अनुसन्धान गर्दै

काठमाडौं— नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकमाथि अनुसन्धान अघि बढाएको छ । बैंकको आवासीय कर्जामा उच्च वृद्धि देखिएपछि राष्ट्र बैंकले एनआईसी एशिया बैंकमाथि छानबिन अघि बढाएको हो । गत असारमा एनआईसी एशिया बैंकले आवासीय कर्जामा ५४ अर्ब ९८ करोड रुपैयाँ लगानी गरेको रिपोर्टले देखाएको थियो ।

तर पुसमा भने एनआईसी एशिया बैंकले त्यही आवासीय कर्जामा एक खर्ब ३३ अर्ब लगानी गरेको रिपोर्टले देखाएपछि बैंकमाथि शंका पैदा भएको हो । अन्य कर्जामा भन्दा कम जोखिम भार राख्न सक्ने भएको आवासीय घर कर्जाको रकम बढी देखाएर एनआईसी एशिया बैंकले छारो हाल्न खोजे पनि राष्ट्र बैंक बेलैमा सजग भएको छ ।

राष्ट्र बैंकले कस्तोमा कति ऋण दिने भन्ने कुरा स्पष्ट पारेको छ । राष्ट्र बैंकका अनुसार ऋण रकमको एक सय ५० प्रतिशत सम्म जोखिम भार मानेर बैंकहरूले ऋणीहरूलाई कर्जा दिन सक्छन् । अहिले आवासीय घर कर्जाको जोखिम भार ६० प्रतिशत, व्यावसायिक घरजग्गाको लागि एक सय २५ प्रतिशत र ५० लाख भन्दा बढी रुपैयाँमाथिको शेयर कर्जामा एक सय २५ प्रतिशत मानेर बैंकहरूले ऋण दिनु पर्ने राष्ट्र बैंक नियम छ । एनआईसी एशिया बैंकले यसैमा चलाखी गर्न खोजेको थियो ।

एनआईसी एशिया बैंकले आवासीय घरजग्गामा कम जोखिम हुने भएकै कारण त्यसमा बढी ऋण देखाउने गरेको भए पनि समयमै राष्ट्र बैंकले अनुसन्धान अघि बढाएको छ । यस विषयमा हामीले एनआईसी एशिया बैंकका अधिकारी अर्जुन खनियासँग बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । 

एनआईसी एशिया बैंकको वित्तिय अवस्था पनि कमजोर बन्दै गएको छ । बाहिर देखाउन मात्रै धेरै शाखा खोल्ने गरेको भए पनि सार्वजनिक भएका वित्तिय विवरणले भने बैंक कमजोर बन्दै गएको कुरालाई पुष्टि गर्छ । बैंकको वित्तिय अवस्था कमजोर बनेकै कारण गएको दुई वर्ष सम्म बैंकले शेयरधनीलाई लाभांश समेत बाँडेको थिएन । अन्धाधुन्द ऋण दिँदा डुब्दै गएको बैंक ऋण असुल्न समेत न्यायधिकरणमा ऋणीविरुद्ध ८३ भन्दा बढी मुद्दा हालेको छ । 

गएको ६ महिना यता मात्रै ८३ जना ऋणीबाट कुल ९९ करोड ८४ लाख ८१ हजार रुपैयाँ बराबरको बिगो दाबीसहित बैंकले ऋण असुली गर्न मुद्दा हालेको छ । आर्थिक वर्षको पुस मसान्तसम्ममा २ अर्ब ९३ अर्ब बढी ऋण लगानी गरेको बैंक उच्च स्रोतले जनाएको छ । तर ऋणीबाट ऋण उठाउन भने एनआईसीले सकेको छैन ।

ऋणीबाट ऋण उठाउन नसकेकै कारण बैंक ऋणीहरूको धितो लिलामी गर्न न्यायधिकरणको सरणमा जाने गरेको छ । एनआईसी एशिया बैंकसँग अहिले ३ अर्ब ४७ करोड भन्दा बढीको धितो छ । तर पटकपटक लिलामीमा जाँदा पनि लिलामी गर्न सकेको छैन । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १९:१५
Weather Update