
काठमाडौं— चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा नै देशभर विभिन्न स्थानबाट अवैध हातहतियार सहित १ सय ३४ जना मानिस पक्राउ परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पक्राउ परेकामध्ये पुरूष १ सय ३० जना र महिला ४ जना छन् । तीमध्ये ६ जना विदेशी नागरिकसमेत छन । सो अवधिमा काठमाडौं उपत्यकाबाट १७ जना, कोशी प्रदेशबाट १८ जना, मधेस प्रदेशबाट २५ जना, बागमती प्रदेशबाट १३ जना, गण्डकी प्रदेशबाट १४ जना, लुम्बिनी प्रदेशबाट २१ जना, कर्णाली प्रदेशबाट १२ जना र सुदूरपश्चिम प्रदेशबाट १४ जना पक्राउ परेका छन् । साथै अवैध हातहतियार अन्तर्गत जम्मा ९४ मुद्दा दर्ता भएका छन् ।
अवैध हातहतियार नियन्त्रणमा प्रहरी सक्रियताको कारण विभिन्न व्यक्तिहरूलाई हतियारसहित पक्राउ गरिएको प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिए । प्रहरीको यस्तो अभियानले देशमा शान्ति सुरक्षा कायम राख्न सहज भएको उनको दाबी छ । ‘आम नागरिकले शान्ति सुरक्षा, अमन चयन कायम भएको महसुस गरेका छन्,’ प्रवक्ता ढकाल भन्छन्, ‘प्रहरीले सूचना संयन्त्रलाई बलियो बनाउँदै काम गरेको कारण हातहतियार कारोबारी र हतियार नियन्त्रण प्रभावकारी बनेको छ । सरोकारवाला निकायबीचको सहकार्यले यस कार्यमा थप मद्दत पुगेको छ ।’
उनका अनुसार सो अवधिमा पेस्तोल ६ थान, रिभल्भर ४ थान, कटुवा पेस्तोल १७ थान, बन्दुक ६ थान, भरुवा बन्दुक ८१ थान र एअरगन २ थान गरी जम्मा १ सय १६ थान अवैध हतियार बरामद भएको छ । सो अवधिमा पेस्तोलको गोली ५३ राउन्ड, रिभल्भरको २२ राउन्ड, कटुवाको १७ राउन्ड, बाह्रबोरको १९ राउन्ड, बन्दुकको २० राउन्ड, भरुवाको ९३ राउन्ड र अन्य ३ राउन्ड गरी जम्मा २ सय २७ राउन्ड गोली बरामद भएको छ ।
बरामदमध्ये काठमाडौं उपत्यकाबाट ७ थान हतियार र १४ राउन्ड गोली, कोशी प्रदेशबाट १८ थान हतियार र १५ राउन्ड गोली, मधेस प्रदेशबाट १४ थान हतियार र ६३ राउन्ड गोली, बागमती प्रदेशबाट १८ थान हतियार र २१ राउन्ड गोली, गण्डकी प्रदेशबाट ९ थान हतियार, लुम्बिनी प्रदेशबाट २५ थान हतियार र ७१ राउन्ड गोली, कर्णाली प्रदेशबाट १३ थान हतियार र ६ राउन्ड गोली तथा सुदूरपश्चिम प्रदेशबाट १२ थान हतियार र ३७ राउन्ड गोली छन् । जसमा भरूवा बन्दुक र कटुवा पेस्तोलको संख्या अन्यको भन्दा बढी छ ।
तस्करी, हत्या, अपहरण, डकैती, लुटपाट, जबरजस्ती चन्दा असुली तथा दुर्लभ वन्यजन्तुको शिकारीमा यस्ता हातहतियार प्रयोग भएको देखिन्छ । अवैध हातहतियार नियन्त्रण तथा कारोबारीलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरीले देशभरि नै विशेष अभियान चलाएको प्रहरी नायब महानिरीक्षक ढकालले बताए ।
अभियानको प्रभावले आम नागरिकबाट सूचना प्राप्त गर्न सहज भएको र यसबाट अवैध हातहतियार नियन्त्रण गर्न प्रहरीलाई सफलता मिलेको उनको भनाइ छ । नियन्त्रणमा लिइएका व्यक्ति तथा हतियार सम्बन्धमा हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा अनुसन्धान एवम् कारवाही हुने गरेको छ ।













