News Griha :: न्यूजगृह
शोधनान्तर बचत २ खर्ब ७३ अर्ब, विदेशी मुद्रा सञ्चिति दर १८ खर्ब १६ अर्ब नाघ्यो 

काठमाडौं— चालु आर्थिक वर्षको पहिलो ६ महिनामा शोधनान्तर बचत २ खर्ब ७३ अर्ब ५२ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । आयातमा गरिएको कडाइसँगै ओरालो लागेको व्यापार घाटा र रेमिट्यान्समा भएको उल्लेख्य वृद्धिले चालु खाता र शोधनान्तर बचत दुवै बढेको छ ।

मंगलबार राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्षको ६ महिनाको तथ्याङ्कका आधारमा सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनमा वाह्य क्षेत्र थप बलियो बन्दै गएको देखाएको छ ।

गत आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिनामा ९२ अर्ब १५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु आवको पहिलो ६ महिनामा ३ खर्ब नजिक पुगेको छ । यस्तै, मुलुकको विदेशी मुद्रा सञ्चिति १८ खर्ब १६ अर्ब नाघेको छ । चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरणअनुसार पुस मसान्तसम्म कुल १८ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चित रहेको छ । 

अमेरिकी डलरमा भने यस्तो सञ्चिति १३ अर्ब ६९ करोड रहेको छ । गत असार मसान्तको तुलनामा विदेशी मुद्रा सञ्चिति १८ प्रतिशतले बढेको तथ्यांकले देखाएको हो । असार मसान्तसम्म कुल १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चित रहेको थियो । अमेरिकी डलरमसमेत असारमसान्तको तुलनामा विदेशी मुद्रा सञ्चिति रकम १६।९ प्रतिशतले बढेको सार्वजनिक विवरणमा उल्लेख छ । 

हालको आयात आधार मान्दा अहिलेको सञ्चितिले १४।५ महिनाको वस्तु आयात र १२।१ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने अवस्था देखिएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १६ खर्ब २३ करोड र बैंक तथा वित्तीय संस्थासँग २ खर्ब १६ अर्ब ३५ करोड रुपैयाँ बराबर रहेको राष्ट्र बैंकले जनाएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १४:५३
Weather Update