काठमाडौं— खानबस्न तारे होटल । काठमाडौं आउन हवाई टिकट र रिजर्भ गाडी । साँझमा मदिरासहितको मेहफिल ।
नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा देशभरबाट काठमाडौं आउने प्रतिनिधिहरूलाई वरिष्ठ उपाध्यक्षसहित केही पदाधिकारीमा उठेका उम्मेदवारहरूले गज्जबको ‘ट्रिट’ गरिराखेका छन् । काठमाडौंका ठूला तारे होटलहरूमा यतिबेला देशभरिका व्यवसायीहरू खचाखच छन् । याक एण्ड यति, रोयल सिंगा, मिराज रिजेन्सीलगायत सुविधा सम्पन्न होटलहरूमा काठमाडौं बाहिरबाट मतदानका लागि आएका व्यवसायीहरू बसिरहेका छन् ।
त्यसो त नेपाल उद्योग वाणिज्य महासंघले आफ्ना मतदाताहरूका लागि अधिवेशन अवधिभर मतदानस्थलमै खाना र खाजाको व्यवस्था गरेको छ । तर, व्यवसायीहरू आ–आफ्नो समूहले नै व्यवस्था गरेको ‘मेजमानी’ खाइरहेका छन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरूले जनही करिब ५ करोडको हाराहारीमा व्यक्तिगत खर्च गरेको हुनसक्ने महाधिवेशनमा सहभागी एक मतदाताले बताए ।
एकातिर व्यवसायीहरू ब्याज र किस्ता तिर्न समस्या भइरहेको स्थितिमा महासंघको नेतृत्वका लागि करोडौँ रकम खर्च भइरहँदा यसले व्यवसायीहरूमाझ ठूलो खाडल भएको देखाउँछ । ‘जिल्ला र नगरकै चुनावमा त अध्यक्ष र पदाधिकारीहरूको ठूलो धनराशि खर्च हुन्छ भने केन्द्रमा त झन् हुने नै भयो,’ बर्दिवास उद्योग वाणिज्य संघ महोत्तरीका विष्णु खड्काले भने, ‘अहिलेको बजारको स्थितिले व्यवसायीहरू समस्यामा परेको बेला यस्तो भड्किलो तरिकाले खर्च नगरेको भए राम्रो हुन्थ्यो होला ।’
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले महासंघको चुनावमा पछिल्लो समय हुनेखानेहरूले असमानता बढाउने गरी खर्च गरिरहेको बताउँछन् । ‘त्यसो त हाम्रो पालामा भन्दा अहिले बढी खर्च हुनु स्वभाविक हो । कारण, तत्कालीन समयमा ८४÷८५ जिल्लाका मतदाताहरू मात्रै केन्द्रीय चुनावमा सहभागी हुन्थे । अहिले त्यो संख्या बढेर ११७ पुगेको छ । एशोसियट र वस्तुगत संघका प्रतिनिधिहरू पनि बढेका छन्,’ उनले भने, ‘तर, जे जस्तो भएपनि पछिल्लो समय महासंघमा निर्वाचित हुनका लागि हुने खर्चको सीमा ह्वात्तै बढ्नु राम्रो कुरा भने होइन ।’
नेतृत्वका लागि खर्च हुने ठूलो धनराशिका कारण सामान्य आर्थिक अवस्था भएका व्यवसायीहरू महासंघको चुनावमा होमिन झस्किने गरेको उनको बुझाइ छ । ‘विशेषगरी मोफसलमा रहेर पनि महासंघ केन्द्रको नेतृत्व लिन चाहने व्यवसायीहरूलाई यस्तो खालको खर्चिलो चुनावले समस्यामा पारेको छ,’ मुल्मी भन्छन्, ‘मतदातालाई आकर्षित गर्न ठूलो धनराशि खर्चने परम्परा झन्भन्दा झन् बढ्दै गएको छ ।’ उनले महासंघको खर्चिलो चुनावको श्रृंखला बढ्दै जाने हो भने हुनेखानेको भागमा मात्र नेतृत्व जाने खतरा रहेको गुनासो गरे ।
विधानमा उल्लेख भएअनुसार महासंघ कुनै पनि खालको मुनाफाको उद्देश्य नरहेको गैरराजनीतिक संस्था हो । जसले देशभरका उद्योग वाणिज्य क्षेत्रका व्यवसायीहरूको हकहितका लागि काम गर्छ । महासंघमा निर्वाचित हुने नेतृत्वदेखि लिएर सम्पूर्ण टिमले स्वयंसेवी शैलीमा काम गर्नुपर्छ । आर्थिक रूपमा कुनै लाभ नहुने पदका लागि पनि यति ठूलो धनराशि खर्च गर्नु अस्वभाविक भएको व्यवसायीहरू बताउँछन् ।
महासंघको नेतृत्वमा हुँदा पाइने संस्थागत र सामाजिक ‘स्पेस’को लोभमा उम्मेदवारहरूले ठूलो धनराशि खर्च गर्दै आएको मुल्मीको बुझाइ छ । ‘महासंघको अध्यक्ष हुनु आफैँमा ठूलो कुरा हो । जुन चिज पैसा भएकै भरमा पाइँदैन । त्यही पद प्राप्तिका लागि हुने दौडमा आफूप्रति अरुको ध्यानाकर्षण गर्न पनि उम्मेदवारहरूले ठूलो धनराशि खर्च गर्छन्,’ मुल्मी भन्छन् ।
त्यसो त नेपाल उद्योग वाणिज्य महासंघले महाधिवेशनका उम्मेदवारहरूका लागि खर्च सीमा तोकेको छैन । यद्यपि, महासंघले चुनावलाई सकेसम्म कम खर्चिलो बनाउने नीति लिएको छ । ‘महासंघको तर्फबाट महाधिवेशनमा हुने खर्च भनेको कार्यक्रमस्थलको व्यवस्थापन, निर्वाचन कमिटीका लागि हुने खर्च र कार्यक्रमको दिनको खाना खर्च हो,’ महासंघका निर्देशक सूर्यराज पौडेलले भने, ‘संस्थागत रूपमा हामीले गर्ने खर्च एकदमै मितव्ययी हुन्छ ।’
जारी चुनावका लागि ८० लाख रुपैयाँ खर्च हुने अनुमान महासंघको छ । देशभरबाट चुनावमा सहभागी हुन आएका प्रतिनिधिहरूका लागि महासंघले कार्यक्रम भएको दिनमा बिहानको खाना र खाजाको व्यवस्था गरेको पौडेलले जानकारी दिए । ‘त्योबाहेक साँझको खाना र बस्ने व्यवस्था प्रतिनिधिहरू आफैले गर्नुपर्ने हुन्छ । त्यसमा महासंघले कुनै जिम्मेवारी लिएको छैन,’ उनले भने ।
वरिष्ठ उपाध्यक्ष उम्मेदवारहरू भन्छन्–खर्च खासै भएको छैन
अघिल्ला चुनावहरूमा सबैभन्दा ठूलो खर्च अध्यक्ष प्रत्यासीको हुन्थ्यो । तर, पछिल्लो केही वर्ष यता नेपाल उद्योग वाणिज्य महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुने भएपछि अहिले सबैको ‘टार्गेट’मा वरिष्ठ उपाध्यक्ष नै पर्छ ।
जारी महासंघको चुनावमा वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका ३ जना व्यवसायीले आफ्नो चुनावी खर्चको यकिन तथ्याङ्क दिन सकेनन् । उनीहरूको सचिवालय पनि पूरा खर्च विवरण नआइसकेको बताउँदै यो विषयमा पन्छिए । अन्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघई योपटक वरिष्ठ उपाध्यक्ष पदका लागि भिडेका थिए ।