News Griha :: न्यूजगृह
Current-Landing-pageCurrent-Landing-page
बाँदर आतङ्कबारे पोखरा महानगरका मेयरलाई खुलापत्र
लेखक सुदीपराज ढुंगाना ।

मेयर साहेब

नमस्कार,

हामी निर्वाचित भएर आए पछिको ११ औं नगरसभादेखि हरेक नगरसभामा अधिकांश सभासद्हरूले बाँदर आतङ्क र यसले पारेको असरको बारेमा आवाज बुलन्द पारेका थियौं । तर आजको दिनसम्म यहाँको जुन  पहल कदमी हुनुपर्थ्यो, कति भयो भन्ने तपाईँलाई नै थाहा होला। अचानाको पिर खुकुरीलाई थाहा नहुने रहेछ । 

म नगर सभासदमात्रै नभइ कृषक भएपनि आफैले देखेभोगेको तितोसत्य बोली रहेको छु । जुन अधिकांश महानगर भित्रको ग्रामीण महानगर बस्तीको पीडा रहेको छ। तपाईँलाई थाहा नै छ, हाम्रै वडालगायतका महानगरका विभिन्न वडामा बेसी र समथर भूभागहरू छन् । जहाँ १२ मासे सिँचाइको व्यवस्था छ अनि जेठो बुढोदेखि सबैखाले बालीहरू, तरकारी र फलफूल तीन सिजन फल्ने गर्दछ । जहाँ बाँदरको आतङ्कको पहुँच पुग्दैन, त्यस्तो ठाउँलाई आवास क्षेत्र घोषणा गर्नुभयो । त्यसको उल्टो पहाडी इलाका जहाँ आकाशे पानी  परेपछि र मूल उम्रेपछि मात्र खेतीपाती गर्न सकिन्छ । उल्टै खानेपानी त मुस्किल छ, लगाएको बालीनाली माथि बाँदर आतङ्क छ, त्यस्तो ठाउँलाई खेतीयोग्य जमिन बनाइदिनु भएको छ ।

मेयर साहेब,

हजुर पनि भरतपोखरीकै डाँडामा जन्मी, हुर्की, पढी आज यो ठाउँमा आइपुग्नु भएको छ । हुन त तपाईँको अहिलेको अधिकतम बसाइ नयाँबजारमा भएर पनि होला, हालको गाउँको बाँदर आतङ्क पूर्णरुपमा थाहा नहुन सक्छ तर म हिजो कन्धानी डाँडामा जन्मी, हुर्की, पढी यहाँसम्म आइपुग्दा हिजो जहाँ हुर्के बढे र पढे, आजपनि त्यही बस्छु जसका कारण आज मैँले बाँदर आतङ्क देखेको र भोगेको छु ।

बारीमा म एक्लै बाँदर धपाउन जाँदा एकपटक बाँदरले म माथि आक्रमण गरि नग्ना गाडेको अझै डोब छ। तपाईँलाई थाहा होला बाँदरको नग्रा मात्र गड्यो भने कति घातक हुन्छ भनेर । एउटा बच्चा स्कुल गएर आउँदा बाँदरको आक्रमण भयो र त्यसलाई तलमाथि केही भयो भने त्यसको जिम्मा कसले लिन्छ ?

आज बाबुनानी र अभिभावकलाई  समेत स्कुल जाँदादेखि फर्कदासम्म मनोत्रास छ । पहिला पहिला बच्चाहरूलाई कोक्रोमा सुताएर आमाले खेतबारीमा काम गर्ने चलन थियो । तपाईँ हामी पनि सानोमा स्कुल जाँदा बाँदर बाटोमा भेटिन्थे तर पहिला त्यस्तो थिएन । अहिले काम त के, कतिखेर आएर आक्रमण गर्छ भन्ने डर ।

झन महिला र केटाकेटीलाई त पटक्कै नटेर्ने । आज तपाईं र मेरो डाँडामात्र हैन महानगर भित्रका दुर्गम महानगर बस्तिहरु बेगनास, माझठाना, कालिका, आर्बा, मौजा, भलाम, अर्मला, हर्पाक, घार्मी,पुरन्चौर, चुरुङा, उपल्लो हेम्जा, सराङकोट,कास्कीकोट, चापाकोट, हर्पन, पुम्दीभुम्दी, मट्टिखान, निर्मलपोखरी सहितका हरेक ठाउँहरू विकास निर्माणलगायतका अत्यावश्यक सुविधा त छँदै छ, झन बाँदर आतङ्कले गाउँकोअवस्था विकराल छ ।   

आज हामी महानगरवासीहरू धेरै खाद्य सामाग्री आयात माथि भर पर्नुको कारण के? युवा विदेश पलायन गराउने बाटो हामीले नै गरेका छैनौ र ! गाउँ घरमा खेतीपाती पर्यौँ। मकै छरेदेखि नै बाँदरले बीउ खोतल्न थाल्छ । मकै पाकुन्जेलसम्म सबै सखाप। दिनभर कुरेर बस्यो, कुनबेला झुक्याएर बाँदरले सखाप पार्छ ।

धान बीउ छरेदेखि काट्ने बेलासम्म उहीँ हालत, कोदो ,गहुँ, तोरीलगायत सबै बालीको अवस्था त्यस्तै छ । कि खाने, नखाए बिगारेर भत्काएर छोड्ने । तरकारीको कुरै नगरौँ, आलु, प्याज, केराउ, काउली, बन्दा, काँक्रो, लौका, सिमी ,घिरौलाको अवस्था त्यस्तै ।

सार्ने बेलादेखि बचिला लाउने बेलासम्म झुक्याएर सखाप पार्ने । मैँले घरमा उत्पादन गरेको लसुन प्याजले वर्ष दिनभरी खान पुग्थ्यो, तर अहिले प्याजको बेर्ना सार्न नपाइ सखाप हुन्छ जसले गर्दा भारतबाट आयातित प्रतिकिलो १६० रुपैयाँसम्म तिरेर खानु परेको छ । कृषि क्रान्तिको भजन गाउँदै गर्दा यो कृषकको समय, मल, बीउबिजन लगायत हल खेतालाको पारिश्रमिकको जिम्मा कसले लिने ? ती कृषकहरूलाई क्षतिपूर्ति र बिमा रकमको ब्यवस्था गरेका छौ त । बारीमा लगाएको खेती नष्ट गरेर नपुगेर भान्छाको खानाको कसौंडी सम्म नछाड्ने यि बाँदरहरू गाउँको बस्तीका लागि क्यान्सरकै रूपमा रहेको अधिकांश जनताहरूको भनाइ छ ।       

मेयर साहेब, 

तपाईँलाई अवगत नै छ, अहिले ग्रामीण भेगबाट बेसी र समथर भूभागमा बसाइसराइ अत्याधिक बढिरहेको छ । गाउँको जग्गा बाझो राखेर बस्ने अनि दुईवटा खोर्सानी र तरकारीका बोट छतमा उमारेर सामाजिक सञ्जालमा पोस्ट गरेर मख्ख पर्ने र कृषि क्रान्तिको नारा रट्ने, हाम्रो गाउँ र समाज कता गइरहेको छ। तितो सत्य हामीले अलि बिर्सियौँ कि । हो जनावरको पनि आफ्नो अधिकार हुन्छ, त्यसलाई पनि मध्यनजर गर्दै वैकल्पिक व्यवस्थापन गर्नुपर्दछ तर हामी मानवले नै आधिकारिक नाममा दैनिक मानव जीवनमा नै उथलपुथल गर्ने, कृषि पेशाबाट नै पलायन हुनुपर्ने, गाउँ घर नै छोडेर हिँड्नुपर्ने बाध्यात्मक अवस्थालाई  रोक्ने तपाई हाम्रो दायित्व होइन र ? 

नेपालकै ठूलो महानगरका बासिन्दा हामी ठूलो बाँदर आतङ्कमा छौं भन्दै गर्दा र तपाईँले रूख कटान सम्बन्धी गरिएको सम्प्रेषणमा तत्काल वैकल्पिक ब्यवस्था गरिएन भने भविष्यमा हामीले घोषणा गर्दै गरेको पर्यटकीय राजधानीमा गाउँ घरमा उत्पादन भएको अर्गानिक तरकारी, फलफूल र खानेकुरा भन्दै विदेशबाट आयातित गरेको खानेकुरा खुवाउने दिन छिट्टै आउनेछ। बाँदर आतङ्कबाट बच्नको लागि तत्काल सुनुवाइ होस भनी जोडदार माग गर्दछु । धन्यवाद ! जय पोखरा !

तपाईँकै नगरसभा सदस्य 

सुदीपराज ढुंगाना 

 वडा सदस्य, पोखरा महानगरपालिका- २६, कास्की

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १३:४१
sagarmatha cementsagarmatha cement
Weather Update