News Griha :: न्यूजगृह
पेट्रोलियम पदार्थको मूल्य वृद्धि, कुनमा कति ?

काठमाडौं— सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ बढाएको छ । बिहीबार बिहान १२ बजेर १ मिनेटबाट लागू हुनेगरि नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र ग्यासको भाउ बढाएको हो ।

निगमले बुधबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा ४ रुपैयाँ, डिजेल तथा मट्टीतेल लिटरमा २ रुपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको जानकारी दिएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो । निगमका अनुसार आईओसीले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ५३ पैसा, डिजेलमा दुई रुपैयाँ ३२ पैसा र ग्यास प्रतिसिलिन्डर १५ रुपैयाँ ७८ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ ।

निगमले मूल्य अभिवृद्धि करको प्रभाव एवं हालसालै लागू भएको पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि २०८० अनुसार आईओसीले पठाएको मूल्यमा नेपाली बजारको भाउ तय गरिएको जनाएको छ ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज र धनगढी क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १६७ रुपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १५५ रुपैयाँ ५० पैसा पर्नेछ ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १६९ रुपैयाँ प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १५७ रुपैयाँ पर्नेछ ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १७० रुपैयाँ प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १५८ रुपैयाँ पर्नेछ । खाना पकाउने ग्यासको भाउ भने देशभर १ हजार ९ सय १० रुपैयाँ भएको छ ।

आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन । आईओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । यसरी पेट्रोलियम किनेवापत् आईओसीले हरेक महिना पन्ध्र/पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ ।

आईओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ । लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत अन्य खर्चहरू जोडेर आईओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ ।

त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ । यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ ।

यो प्रक्रियामा पेट्रोलियमको मूल्य तय हुने सबभन्दा ठूलो आधार भनेकै आईओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको दाम हो ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  ०५:५२
Weather Update