
काठमाडौं— पछिल्लो समय पटक पटक विवादमा तानिने गरेका एकजना युट्युबर मनोज मानव (मनोजकुमार महतो) फेरि पक्राउ परेका छन् ।
रकम लेनदेन र अश्लील गाली गरेपछि विवादमा मुछिएका युट्युबर महतोलाई एकजना महिलाको चरित्र हत्या गरेको अभियोगमा नेपाल प्रहरीको साइबर ब्युरोले मंगलबार हिरासतमा लिएको हो । ब्युरोका उपनिर्देशक एसपी पशुपतिकुमार रायका अनुसार उनीविरुद्ध एकजना महिलाले उजुरी दिएकी थिइन् ।
आफ्नो व्यक्तिगत तथा सामाजिक जीवनमा असर पार्ने विषयमा झुटो विवरण प्रस्तुत गरी, भिडिओ बनाई, युट्युबमार्फत प्रसारण गरी अनावश्यक दुःख र चरित्र हत्या गरेको आरोपसहित ती महिलाको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको रायले बताए ।
उजुरीपछि सिरहाको लहान नगरपालिका वडा नं. २४ घर भई कीर्तिपुर नगरपालिका ४ आँगाटार बस्ने ३६ वर्षीय मनोज मानव भन्ने मनोजकुमार महतोलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसुरमा पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप भइसकेको एसपी रायले बताए ।
यसअघि नेकपा एमालेका नेता महेश बस्नेतसहित विभिन्न व्यक्तिको चरित्र हत्या गरेको तथा रकम मोलमोलाइमासमेत संलग्न भएको घटनामा मुछिएपछि उनलाई साइबर ब्युरोले गत कात्तिकमा पक्राउ गरेको थियो ।













