काठमाडौं— चीनबाट नेपाल भ्रमणका लागि १८१ चिनियाँ पर्यटकहरू विमान चार्टर गरेर काठमाडौंमा आइपुगेका छन् ।
नेपालीको नयाँ वर्षको पूर्वसन्धामा हिमालय एयरलाइन्सको विमान चार्टर गरेर बिहीबार आएका चिनियाँ पर्यटकहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदुत छेन् सङलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरे ।
उनीहरूको करिब ७ देखि १० दिन नेपालमा विभिन्न पर्यटकीय गन्तव्यहरुमा घुम्नेछन् । १८१ चिनियाँ पर्यटकलाई स्वागत गरेपश्चात् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटक आउने ढोका खुलेको बताए ।
उनले कोरोना महामारीको कारण लामो समय नेपालमा समूहमा घुम्न प्रतिबन्ध खुला हुनु नेपाल र चीनसँगको सम्बन्ध बिस्तार भएको बताए । उनले नेपालको पर्यटन क्षेत्रको विकासको लागि चीनको योगदानको प्रारम्भ भएको पनि उल्लेख गरे ।
त्यस्तै, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकहरूको महत्वपूर्ण भूमिका रहेको बताए । लामो समयपछि चीन सरकारले समूहमा नेपाल घुम्न अनुमति दिएपछिको नेपाल भ्रमणमा पहिलो १८१ चिनियाँ टोली आउनु स्वागतयोग्य रहेको बताए ।
उनले पहिलो समूहमा १८१ जना आएको र अब लगातार रुपमा ७ सय चिनियाँ पर्यटक आउने बताए । उनले २०१९ मा १ लाख ६५ हजार नेपालमा चिनियाँ पर्यटक आएको बताए । उनले चिनियाँ राष्ट्रपतिले भिजिट २०२० मा चीनबाट ५ लाख पर्यटक पठाउने भनेपनि कोरोनाका कारण सफल हुन नसकेको बताए । उनले यो वर्ष २०१९ को भन्दा बढी चिनियाँ पर्यटक नेपालमा पाउने अपेक्षा गरिएको बताए । उनले पर्यटकहरूको नेपाल बसाई एक हप्ता हुने जानकारी दिए ।
त्यस्तै, पर्यटन व्यवसायी सुदर्शन नेपालले चिनियाँ पर्यटकहरुको टोली हिमालय एयरलाइन्सको विमान चार्टर उडानमार्फत लगातार आउने तालिका रहेको बताए ।
कोरोना महामारीपश्चात् चीन सरकारले मार्च १० बाट नेपाललाई गन्तव्यका सूचीमा राखेको थियो । नेपाल गन्तव्य मुलुकमा परेपश्चात् चार्टर उडानमार्फत चिनियाँ पर्यटकको पहिलो समूह नेपाल आएको हो । उनीहरू नेपाल विग माउन्टेन ट्राभलमार्फत आएका हुन् ।