News Griha :: न्यूजगृह
सूर्यदर्शन सहकारीका अध्यक्ष बुढामगर र पूर्वअध्यक्ष राईविरुद्ध पनि डिफ्युजन नोटिस जारी

काठमाडौं— सूर्यदर्शन सहकारीका पदाधिकारीले गरेको बचतकर्ताको एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा थप दुई जनाविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएको छ ।

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को महासचिवालयले आइतबार सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो । शुक्रबार यसमा जोडिएका मुख्य आरोपी जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो ।

सूर्यदर्शन सहकारीसँग जोडिएको ठगी सम्बन्धी मुद्दामा डिफ्युजन नोटिस जारी गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय, कास्कीले गत मंसिरमा प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो । त्यसको आधारमा इन्टरपोलको नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौंले डिफ्युजन नोटिस जारी गर्न इन्टरपोलको महासचिवालयलाई अनुरोध गरेको थियो ।

यो नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्रहरूमा भएको वा नभएको लोकेट हुनेछ, त्यसपछि उनलाई डिपोर्ट गराएर नेपाल ल्याउने प्रक्रिया थालिने प्रहरीले जनाएको छ । सहकारीका बचतकर्ताले जम्मा गरेको रकम हिनामिना गरेको आरोपमा कोषाध्यक्ष कुमार रम्तेल थुनामा छन् । त्यस्तै, उपाध्यक्ष कैलाशकुमार दर्लामी, सदस्य शिवबहादुर गुरुङ र भगिश्वर अर्याल पनि पुर्पक्षका लागि थुनामै छन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबीसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । तीमध्ये १५ जना फरार छन् ।
सूर्यदर्शनका पदाधिकारीले बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको जाहेरीमा उल्लेख छ । उनीहरूलाई सहकारी ऐन अनुसार बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ । सूर्यदर्शनबाट जीबी राई समूहले नक्कली शेयर सदस्य र विभिन्न कम्पनी कडा गरेर पैसा निकालेर अपचलन गरेको प्रहरीले बुझाएको प्रतिवेदनमा उल्लेख छ । 

सहकारीका सञ्चालक तथा पदाधिकारीले कृत्रिम सेयर सदस्य र खाता खोलेर रकम अपचलन गरेको, सहकारीको नाममा कुनै पनि सम्पत्ति नराखी व्यक्तिको नाममा गरेको देखिएको प्रहरीको निष्कर्ष छ ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १३:४७
Weather Update