News Griha :: न्यूजगृह
सिटौलालाई देउवा-प्रचण्डले दिँदैछन् ‘सरप्राइज गिफ्ट’ 

काठमाडौं— राष्ट्रिय सभाको नेतृत्व कसले गर्ने भनेर प्रमुख राजनीतिक दलहरू परामर्शमा जुटेका छन् । १९ रिक्त स्थान बिहीबारको निर्वाचनबाट पूरा भएको छ। सत्ता गठबन्धनले १८ स्थान लिएका छन् भने मुख्य विपक्षी एमालेको हातमा एक स्थान परेको  छ। 

मतभारको हिसाबले एक स्थान पनि पाउन नसक्ने स्थितिमा रहेको एमाले कसरी शून्य हुनबाट जोगियो भन्ने विषय पनि यतिबेला निकै चर्चामा छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र अरु सत्तारुढ दलहरूले आफ्ना मतदातालाई गुप्त संकेत गरेकाले एमालेलाई खाली हात हुनबाट बचाएको भन्ने एकथरिको तर्क छ। प्रमुख तीन दलका शीर्ष नेताहरूको पछिल्लो समयको बाक्लो भेटघाटकै परिणाम ठानिएको छ १९ र १ को परिणामलाई । 

को होला राष्ट्रिय सभा अध्यक्ष?

निर्वाचनको मिति तय भएदेखि नै चर्चामा रहेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्य चुनिएका छन् । संसद्को तल्लो सदन प्रतिनिधि सभाको निर्वाचनमा झापा ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित सिटौला वर्षदिन बित्दानबित्दै संसद्कै माथिल्लो सदनको सदस्य चुनिएका हुन् ।  त्यसो त प्रत्यक्ष निर्वाचनमा पराजित अरु पनि नेता सिटौला जसरी नै माथिल्लो सदनको सदस्य चुनिएका छन् ।

नवनिर्वाचित सांसद सिटौलालाई राष्ट्रिय सभाको सम्भावित अध्यक्षका रुपमा पनि हेरिएको छ । सत्ता गठबन्धनले उनलाई त्यही प्रयोजनका लागि सदस्यमा चुनेको बताएको छ। तर सिटौला अरु नै उद्देश्य बोकेर रणनीतिक रुपमा मात्र सम्भावित अध्यक्षको चर्चा चलाएको पनि तर्क गरिएको छ। सिटौला आफैं भने बधाई ग्रहण गर्दै प्रचलित मुस्कान मात्र छरिरहेका छन्। आज बिहानै उनी विराटनगरस्थित कोइराला निवास पुगेका थिए । कोइराला परिवारको विरासत बोकेका नेता शेखर कोइरालाको बधाई थापेर सिटौला काठमाडौं फर्कँदैछन् । काठमाडौं आएर प्रधानमन्त्री दाहाल र सभापति देउवासँग परामर्श गरेपछि भने सिटौलाको भावी भूमिका प्रस्ट हुने छ । 

माघ २२ मा संघीय संसद्का दुवै सदनको अधिवेशन सुरु हुँदैछ । त्यसपछि माथिल्लो सदनको नेतृत्व चयनको प्रक्रिया थालिने छ। त्यसअघि गठबन्धन दलहरूले कसलाई अध्यक्ष बनाउने भन्ने बारेमा मन्थन गर्नेछन् । प्रधानमन्त्री पुष्पकमल दाहालले रुचाएका केही नेतामध्येका निकट मानिने सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाएर शान्ति प्रक्रियाका थाँती काम सम्पन्न गर्ने एकमात्र मनसुवा दाहालले राखेको थाहा भएको छ ।

सिटौला निकट सूत्रका अनुसार, १२ बुँदे सहमति, वृहत शान्ति सम्झौता र दुई/दुई पटक भएका संविधान सभाका निर्वाचनसम्म सिटौलाले निर्वाह गरेको भूमिकाबाट द्वन्द्व रूपान्तरणमा योगदान पुगेकाले उनलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनुपर्ने प्रधानमन्त्री दाहालले जोड दिँदै आएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दाहालको यो तर्कसँग सहमत छन् ।

अर्कोतिर, सभापति देउवा भने सिटौलालाई पार्टीको महत्वपूर्ण जिम्मेवारी सुम्पन चाहिरहेका छन्। पार्टीको नेतृत्वमा जान जोडदार प्रयत्न गरिरहेका अरु नेताबाट भरोसा गुमाउँदै गएका देउवा आफूलाई भरमग्दुर साथ दिनेगरी सिटौलालाई संगठनको जिम्मेवारी दिने सोचमा छन् । उनले आगामी महासमिति बैठकबाट कार्यसमितिमा वरिष्ठ उपसभापतिको पद सिर्जना गरेर सिटौलालाई कार्यसमितिमा पदस्थापन गर्ने तयारी समेत गरेको जानकार स्रोतले बताएको छ । 

उपसभापति पूर्णबहादुर खड्कासहितका कतिपय नेतासँग असन्तुष्ट सभापति देउवाले सिटौलालाई यिनै कुराहरू बताएर विश्वासमा लिएपछि राष्ट्रिय सभाको चुनावमा उनी सहभागी भएको स्रोतको भनाइ छ । सिटौलालाई राष्ट्रिय सभाको भावी अध्यक्षका रुपमा हेरिए पनि सभापति देउवा भने उनलाई उपप्रधानसहित महत्वपूर्ण मन्त्रालय सम्हाल्ने गरी सरकारमा पार्टीको प्रतिनिधित्व गराउने  तयारीमा रहेको देउवा निकट सूत्रको भनाई छ । झापास्थित सिटौला निकट सूत्रले पनि यो चर्चालाई ‘वास्तविकतासँग नजिक’ भनेको छ । 

तत्कालीन प्रधानमन्त्री तथा सभापति गिरिजा प्रसाद कोइरालाका विश्वासपात्र रहेका सिटौला कोइरालाको पार्थिव अवसानपछि अलग्गै समूह बनाएर राजनीतिमा आफ्नो उपस्थिति जनाइरहेका छन् । उनले नेपाली कांग्रेसको विगतका महाधिवेशनमा आफ्नो समूहलाई अस्तित्वमा उभ्याइरहने गरी देउवालाई साथ दिँदै आएका छन् । सिटौलाको भूमिका देउवालाई सभापतिमा चुनिन निकै सहयोगी रहेको मानिन्छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १३:२१
Weather Update