News Griha :: न्यूजगृह
फेरियो दलीय समीकरण, राष्ट्रिय सभामा माओवादी ठूलो, एमाले तेस्रो

काठमाडौं— संघीय संसद् अन्तर्गतको माथिल्लो सदन राष्ट्रिय सभामा माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी बनेको छ । राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि बिहीबार भएको निर्वाचनमा माओवादी केन्द्रका पाँच जना उम्मेदवार विजयी भएका छन् ।

माओवादीबाट हाल उपाध्यक्षसहित १५ जना छन् । ३ जना फागुन २० मा बिदा हुँदैछन् । थप ५ जना निर्वाचित भएकाले राष्ट्रिय सभामा माओवादी केन्द्र १७ सिटसहित सबैभन्दा ठूलो दल बन्न सफल सफल भएको हो ।

बिहीबार भएको चुनावमा कांग्रेसका १० जना निर्वाचित भए । त्यस्तै, एकीकृत समाजवादीका दुई र जनता समाजवादी पार्टीका एक जना निर्वाचित भए । यो मत परिणामले राष्ट्रिय सभामा दलीय समीकरण फेरिएको हो ।  यसअघि राष्ट्रिय सभामा कांग्रेसका १० सांसद थिए । जसमा ४ जना फागुन २० गते बिदा हुँदैछन् । बाँकी रहेका ६ जनामा बिहीबार १० जना थपिएपछि राष्ट्रिय सभामा कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल बन्न पुगेको छ  । 

एमाले लगातार ६ वर्षदेखि राष्ट्रिय सभाको पहिलो दल थियो । २०७४ माघ २४ मा भएको निर्वाचनबाट पहिलो बनेको एमाले बिहीबारदेखि तेस्रो दल बनेको छ । राष्ट्रिय सभामा एमालेका १७ जना सांसद थिए । ८ जनाको पदावधि सकिएर बिदा हुने बेलामा राप्रपासँग तालमेल गरेर कोशीमा एक सिट जिते पनि ७ सीट गुमाएको छ । अब १० जना सांसद हुने भएकाले प्रतिनिधि सभाको दोस्रो ठूलो दल एमाले राष्ट्रिय सभामा तेस्रो दल बनेको हो ।

राष्ट्रिय सभामा एकीकृत समाजवादीका ८ र जनता समाजवादी पार्टी (जसपा) का  ३ सांसद छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमोर्चाको राष्ट्रिय सभामा १/१ सिट छ भने राष्ट्रपतिबाट मनोनीत हुने तीनमध्ये एउटा सिट खाली भएको छ ।

राष्ट्रिय सभाका ५९ सदस्यमध्ये प्रदेशहरूबाट ८/८ जना निर्वाचित हुन्छन् भने ३ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुन्छन् । नेपालको संविधान २०७२ जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि २, ४ र ६ वर्ष गरी गोला प्रथाबाट तय गरिएको थियो । गोलाप्रथाबाट दुईवर्षे कार्यकाल परेकाहरूको पदावधि २०७६ फागुन २१ मा सकिन लाग्दा माघ ९ मा १८ सिटका लागि राष्ट्रिय सभा निर्वाचन भएको थियो । 

उक्त निर्वाचनबाट तत्कालीन एमाले–माओवादीको नेकपाले १६ सिट जितेको थियो । ५९ सदस्यीय राष्ट्रिय सभामा सरकारले मनोनीत गर्ने तीन जनाबाहेक ४७ जना नेकपाका सांसद थिए । एक भएका एमाले–माओवादी वैधानिक कारणले छुट्टिए भने एमालेबाट विभाजित भएर नेता माधवकुमार नेपाल समूहले छुट्टै दल एकीकृत समाजवादी गठन गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १९:१९
Weather Update