
काठमाडौं— मंगलबार बिहान त्रिशूलीमा खसेको भारतीय नम्बरको गाडीका चालक नारायणगढतिर गएको सूचना प्रहरीले पाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी श्रीराम भण्डारीका अनुसार गाडी दुर्घटनास्थलबाट निस्किएका एक जना सार्वजनिक गाडी चढेर नारायणगढतिर गएको ट्यांकर चालकले प्रहरीलाई जानकारी दिएका छन् ।
ती चालकले दिएको जानकारीअनुसार त्रिशूलीबाट बाहिर निस्किएका व्यक्ति पूरै भिजेको अवस्थामा थिए । अहिले प्रहरीले ती व्यक्तिको खोजी गरिरहेको छ।
मंगलबार बिहान ४:४० बजेको समयमा चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन नारायणगढ सडकखण्डको ३ नम्बर पुल नजिक त्रिशूली नदीमा पानीभित्र गाडीको लाइट बलेको जस्तो छ भन्दै अपुष्ट सूचना प्रहरीलाई आएको थियो ।
सूचना लगत्तै घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिन र जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी टोली खटिएको थियो । प्रहरी पुगेर हेर्दा उक्त स्थानमा गाडी दुर्घटना भएको पुष्टि भएको थियो । त्यसपछि कुरिनटारस्थित सशस्त्र प्रहरीको गोताखोरलाई खबर गरिएको थियो ।
गोताखोरले खोजी गर्दा नदीभित्र बीआर०९जीसी१४३० भारतीय नम्बरप्लेट भएको सेतो रंगको सिंगलक्याप भएको बोलेरो जीप फेला परेको थियो ।
तर उक्त स्थानमा मानिस भने फेला परेनन् । उक्त बोलेरोमा कति मानिस थिए भन्ने पनि खुलेको छैन ।
गोताखोरले बोलेरोलाई डोरीले बाँधेर राखेको छ । नदीभित्र पनि थप खोजीकार्य चलिरहेको प्रहरीले जानकारी दिएको छ ।
त्रिशूलीमा खसेको जीप निकालियो, मान्छे भेटिएनन् [अपडेट]













