News Griha :: न्यूजगृह
त्रिशूलीमा खसेको जीप निकालियो, मान्छे भेटिएनन् [अपडेट]
Photo: APF

चितवन— मंगलबार बिहानै त्रिशूली नदीमा खसेको जीप गोताखोरले नदीबाट निकालेका छन् ।

प्रहरीका अनुसार बिहान पौने पाँच बजे त्रिशूली नदीमा गाडीको लाइट बलेको देखेपछि जीप खसेको खुलेको थियो । त्यसपछि परिचालित गोताखोरको टोलीले नदीबाट जीप निकालेको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीका अनुसार नदीबाट निकालिएको जीप भारतीय नम्बर प्लेटको हो । नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट BR 09GC1430 नम्बरको सिंगल क्याबिन सेतो रङको बोलेरो प्रहरीले नदीबाट निकालेको हो । तर जीपका चालक वा यात्रु भने भेटिएका छैनन् ।

‘जीपमा मान्छे थिए वा थिएनन् वा के भएको हो भन्नेबारे यकिन गर्न सकिएको छैन,’ डीएसपी भण्डारीले  भने । जीप त्रिशूली नदीमा खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको गोताखोरको टोली त्यहाँ पुगेको थियो । गोताखोरको टोलीले जीप पानीभित्र भेट्टाएको डीएसपी भण्डारीले बताए ।

त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ०९:२५
Weather Update