News Griha :: न्यूजगृह
रवि कुमारको धन्दा : फिल्मको लागि अडिसन लिने भन्दै होटलमा बोलाउने र बलात्कार गर्ने, खर्चसमेत पीडितलाई तिर्न बाध्य पार्ने

काठमाडौं— भारतको जोगवनी घर भएका रवि कुमार अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । 

रवि कुमारले काठमाडौंको एम्बासडर होटलमा युवतीलाई बलात्कार गरेको आरोप छ । बलात्कार आरोपमा उनलाई विराटनगरबाट पक्राउ गरेर काठमाडौं ल्याएको जिल्ला प्रहरी परिसरका एसपी कुमोध ढुङ्गेलले बताए ।

रवि कुमारको ‘अपराध प्रकृति’ फरक खालको छ । विद्युतीय माध्यमबाट ब्ल्याकमेलिङ गरेर उनले यौन शोषण गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । आरोपीले भारतको जोगवनीबाट विराटनगर हुँदै काठमाडौं आउजाउ गर्ने खर्च पीडितसँग नै असुल्ने गरेका अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताए  ।

मंसिर २८ मा उनले पीडितलाई लाजिम्पाटस्थित एम्बासडर होटलमा बोलाएर बलात्कार गरेका हुन् । पीडितले उनीविरुद्ध कालिमाटीस्थित महिला सेलमा उजुरी दर्ता गराएकी छन् ।

यस्तो छ घटना

‘अफेयर’को नाटक मञ्चन गरेका रवि कुमारले फिल्मको लागि अडिसन लिन काठमाडौं आएको पीडितलाई बताउँछन् । साउथ इन्डियन मुभीमा पनि अभिनय गरेका २५ वर्षीय रवि कुमारले पीडितलाई एम्बासडर होटलमा बोलाउँछन् । मंसिर २८ मा बलात्कार गरेर उनी २९ मा विराटनगर फर्किन्छन् । विराटनगर फर्किँदा उनले पीडितलाई नै टिकट काट्न लगाउँछन् । बलात्कारपछि उनले ‘अफेयर’लाई बेवास्ता गरेर ब्ल्याकमेल गर्न थालेपछि पीडितले प्रहरीमा जाहेरी दिन्छिन् ।

काठमाडौंमा बलात्कार गरेर भारत गएका रवि कुमारले अश्लील भिडियो बनाएर पीडितहरूलाई विराटनगरमा बोलाएरसमेत यौन शोषण गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट डीएसपीको नेतृत्वमा खटिएको टोलीले रवि कुमारलाई विराटनगरबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो ।

रवि कुमारले अहिलेसम्म ३ जनालाई बलात्कार गरेको उजुरी जिल्ला प्रहरी परिसर काठमाडौंमा र कालीमाटी महिला सेलमा दर्ता भएको छ । अश्लील भिडिओमा फोटो जोडेर पीडितलाई पठाउने र सो भिडिओ आफन्तलाई पठाउँछु भनेर उनले ब्ल्याकमेल गर्ने गरेको पीडितहरूले प्रहरीलाई बताएका छन् ।

आरोपीले पीडितहरूलाई आफूले भनेको ठाउँमा बोलाउँथे । बलात्कार गरेको भिडिओ पनि खिचेर उनले थप प्रताडित बनाउने गरेको अनुसन्धानमा संलग्न अधिकृतले बताए । जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर प्रहरीले उनीबारे अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १९:१०
Weather Update