News Griha :: न्यूजगृह
यौन सम्बन्धको भिडिओ खिचेर ‘ब्ल्याकमेलिङ’ गर्ने युवक पक्राउ

विराटनगर  नेपाली किशोरीहरूलाई यौन शोषण गरेको आरोपमा एकजना भारतीय युवक पक्राउ परेका छन् । सीमावर्ती भारतीय बजार जोगबनीका २६ वर्षीय रवि कुमारलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

जोगबनीमा बसेर नेपाली किशोरीसँग अनलाइन सम्पर्क गर्दै अनेक लोभ देखाएर यौन शोषण गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । ती युवकबाट शोषणमा परेका अनि ‘ब्ल्याकमेलिङ’ गर्न खोजेको उजुरी प्रहरीमा परेको थियो । त्यसपछि उनीमाथि निगरानी गरिरहेको प्रहरीले विराटनगर आएका बेला पक्राउ गरेको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर मोरङ प्रहरीसँग समन्वय गरी उनलाई पक्राउ गरिएको थियो ।

अनलाइनबाट नेपाली किशोरीहरूसँग सम्पर्क बनाउने, कुराकानी गर्दै जाँदा नजिकिने अनि होटलमा बोलाउने गरेको खुलेको छ । होटलमा बोलाएर उनले किशोरीहरूमाथि यौन सम्बन्ध राख्ने गरेका थिए ।

त्यस्तो सम्बन्धको भिडिओ खिचेर ‘ब्ल्याकमेलिङ’ गर्ने गरेको समेत पाइएको प्रहरीको भनाइ छ । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार हालसम्म १५ जना बढी किशोरी उनको ‘ट्रयाप’ मा परिसकेको गुनासो प्रहरीमा आएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  ०६:५३
Weather Update