News Griha :: न्यूजगृह
आयल निगमका कर्मचारीलाई चाहियो बोनस

काठमाडौं— अर्न्तराष्ट्रिय बजारअनुसार मूल्य समायोजन नगरेको आयल निगमले गत आर्थिक वर्षमा ११ अर्ब ७२ करोड रुपैयाँ नाफा कमाएको छ ।

निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार यो रकम कर बाहेक हो । गत वर्ष करसहित करिब १६ अर्ब रुपैयाँ नाफा गरेको थियो । गत आर्थिक वर्षको असोजदेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर घटेपनि सोही अनुसार समायोजन नहुँदा निगमले नाफामा कमाएको हो ।

‘आर्थिक वर्ष २०७९/७८ मा कर बाहेक करिब ३८ अर्ब रुपैयाँ नोक्सानीमा थियौ । २०७९/८० मा आइपुग्दा ११ अर्ब ७२ करोड नाफा भएको छ,’ साहले भने, ‘सञ्चित नाफाको हकमा भने ४ अर्ब ८५ करोड घाटामै छौं । यो रकम चालु आर्थिक वर्षमा पूर्ति हुन्छ ।’

सरकारले सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०७९’ अनुसार निगमको घाटा ४३ करोड २ लाख रुपैयाँ थियो । २०८० को समीक्षा प्रतिवेदनमा सार्वजनिक संस्थान मध्ये सबैभन्दा बढी कमाउने सूचीमा निगम हुनेछ । ‘विद्युत प्राधिकरणको नाफा १३ अर्ब रुपैयाँ भन्ने जानकारी आएको छ, कर बाहेक भए निगम दोस्रो स्थानमा पर्छ । करसहित भए सबैभन्दा कढी कमाउनेमा निगम नै पर्छ,’ साहले भने ।

२०७८/७९ मा कच्चा तेलको मूल्य उच्च भएको समयमा सोही अनुपातमा नेपाली बजारमा इन्धनको मूल्य समायोजन नहुँदा निगमले ४८ अर्ब ८५ करोड रुपैयाँ नोक्सानी व्यहोरेको समेत उनले दाबी गरे । ‘समस्या समाधान गर्न राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब र नेपाल सरकारबाट ७ अर्ब रुपैयाँ ऋण लिनुपर्‍यो । आईओसीकै बक्यौता थियो,’ निगमको ५४ औ वार्षिकोत्सवमा उनले भने, ‘यी सबै चुक्ता गरेर ११ अर्ब ७२ करोड रुपैयाँ नाफा भएको छ ।’

कर्मचारी संघ सङ्गठनका प्रतिनिधिले कानुनमा व्यवस्था भएअनुसार नाफामा हुँदा समेत बोनस नपाएको गुनासो गरे । ‘अन्य संस्थानमा नियम, कानुनअनुसार बोनस, प्रोत्साहन, ग्रेड बाँडिन्छ । तर, निगम नाफामा हुँदा पनि बोनस वितरण हुँदैन,’ निगमका स्वतन्त्र कर्मचारी युनियन अध्यक्ष विकास बखतीले भने, ‘अन्य सार्वजनिक संस्थान जस्तै नाफा गएको वर्ष निगमका कर्मचारीलाई पनि बोनस दिनुपर्छ ।’ उनले निगमको व्यापारलाई विविधिकरण गर्दे लैजानु पर्ने बताए । 

आधिकारिक ट्रेड युनियनका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले पनि बोनस, आवास ऐन लागू हुनुपर्ने बताए । ‘ऐन संसद्ले बनाएको हो, कार्यान्वयन गर्ने जिम्मा मन्त्रीको हो,’ चन्दले भने, ‘नाफा भएको वर्षमा बोनस दिनुपर्छ । ’

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १५:२४
Weather Update