News Griha :: न्यूजगृह
श्रीमतीलाई भेट्न काठमाडौं आउँदा पक्राउ परे बम्जन

काठमाडौं— लामो समयदेखि नेपाल प्रहरीको खोजीमा थिए लिटल बुद्ध उपनामले चिनिने रामबहादुर बम्जन । उनै बम्जन मंगलबार साँझ काठमाडौंबाट पक्राउ परे । 

काठमाडौं बुढानीलकण्ठ वडा नं.७ मा परिवारसँग बसिरहेको अवस्थामा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो । बम्जनका श्रीमती र छोराछोरी बुढानिलकण्ठमा बस्दै आएका थिए । परिवारलाई भेट्न आउँदा उनको हातमा प्रहरीले हतकडी लगाएको हो । 

बम्जनले प्रहरीबाट उम्किन अन्तिमसम्म प्रयास नगरेका पनि होइनन् । मंगलबार साँझ प्रहरीको टोली बम्जनलाई पक्राउ गर्न उनको घरभित्रै छिरेको थियो । तर, प्रहरी छिरेको सुइँको पाएपछि उनी तीन तले घरको छतबाट हामफालेर भाग्ने तयारीमा थिए । तर यो पटक उनको प्रयास व्यर्थ भयो ।  

कहिले जङ्गल त कहिले भारतमा लुकेर प्रहरीलाई छल्न माहिर बम्जन अन्ततः कानुनी फन्दामा परे । सीआईबी सामु यसपालि भने उनी निरीह साबित बने । 

उनीमाथि मानव बेचविखन र व्यक्ति बेपत्ताको आरोप लागेपछि सीआईबीले लामो समयदेखि खोजी गरिरहेको थियो । बम्जनको नातेदारलाई प्राविधिक रुपमा निगरानीमा राखेर प्रहरीले खोजे पनि उनी फेला पर्न सकेका थिएन । उनी कहिले काठमाडौं आएका थिए भन्नेबारे केही खुलाइएको छैन । 

बम्जन काठमाडौं मै रहेको सूचनापछि सीआईबीको टोली १८ दिनदेखि उनको पछि लागेको थियो । भाग्न सक्ने सम्भावना बलियो भएपछि सीआईबीले मंगलबार साँझ उनलाई पक्राउ गर्न सफल भएको हो । यसअघि सीआईबीले सिन्धुपाल्चोक र सिन्धुलीमा रहेको उनको आश्रममा पनि छापा मारेको थियो ।

तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप बम्जनमाथि लागेको छ ।  बम्जनमाथि सर्लाही, नुवाकोट, मकवानपुरका केही अनुयायीलाई बेपत्ता पारेको आरोप छ । सर्लाहीमा बलात्कार गरेको उजुरी छ । 

भोलि पत्रकार सम्मेलन गरेर सीआईबीले थप विवरण सार्वजनिक गर्ने बताएको छ । 

 

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  २१:५१
Weather Update