
काठमाडौं— तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप लागेका रामबहादुर बम्जन पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौंबाट पक्राउ गरेको प्रवक्ता नवराज अधिकारीले बताए ।
बम्जनले आफूलाई बौद्ध धर्मका तपस्वी ‘लिटिल बुद्ध’ बताउँदै आएका छन् ।
बम्जनमाथि सर्लाही, नुवाकोट, मकवानपुरका केही अनुयायीलाई बेपत्ता पारेको आरोप छ । सर्लाहीको आश्रममा बलात्कार गरेको उजुरी छ । १८ दिनदेखि लगातार पछि लागेर सीआईबीको टोलीले उनलाई हात्तीगौंडास्थित घरबाटै पक्राउ गर्न सफल भएको हो ।
बम्जन काठमाडौं आसपासमै रहेको सूचनापछि सीआईबीको टोली १८ दिनदेखि उनको पछि लागेको थियो । भाग्न सक्ने सम्भावना बलियो भएपछि प्रहरीले निरन्तर निगरानी गरेर मंगलबार साँझ पक्राउ गर्न सफल भएको हो ।
मंगलबार साँझ प्रहरीको टोली बमजनलाई पक्राउ गर्न उनको घरभित्रै छिरेको थियो । तर, प्रहरी छिरेको सुइँको पाएपछि उनी तीन तले घरको छतबाट हामफालेर भाग्ने तयारीमा थिए ।
'पक्राउ गर्न जब प्रहरी टोली उनको घरभित्र छिर्यो, त्यसबेला उनी तीन तलामाथिबाट हामफालेर भाग्ने तयारीमा थिए,' एक प्रहरी अधिकारीले भने, 'उनी भाग्न सक्ने अनुमासनसहित थप तीनवटा टोली बाहिर परिचालन गरिएको थियो। त्यहीकारण उनी यस पटक प्रहरीलाई छल्न असफल भए।'
सीआईबीले लामो समयदेखि बम्जनको खोजी गरिरहेको थियो । २०७६ पुसमा सिन्धुपाल्चोकको इन्द्रवती–६ बाँडेगाउँ तथा २०७७ असारमा सिन्धुलीको कमलामाई नगरपालिका ९ पैरेको आश्रममा छापा समेत हानेको थियो ।