News Griha :: न्यूजगृह
टुटलका प्रमुख शिक्षित भट्टलाई रिहा गर्न अदालतको आदेश

काठमाडौं— जिल्ला अदालतले टुटलका प्रमुख शिक्षित भट्टलाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीश शकुन्तला कार्कीको इजलासले भट्टलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको हो ।

आपराधिक विश्वासघात तथा प्रतिलिपि अधिकार ऐन सम्बन्धी कसूरको मुद्दामा अदालतले प्रतिवादीलाई थुनामा नै राखी मुद्दा अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था नदेखिएको ठहर गरेको छ । 

अदालतको आदेशमा भनिएको छ, ‘यसमा यिनै जाहेरवालाले यी प्रतिवादी विरुद्ध उच्च अदालतमा प्रस्तुत मुद्दासँग सम्बन्धित विषयमा दिएको निषेधाज्ञा ०८०–१–००३९ नम्बरको मुद्दा दायर गरी मिति २०८०।०६।२१ मा अन्तरिम आदेशको निरन्तरता नहुने गरी आदेश भैसकेको अवस्था देखिँदा सोही विषयमा यी प्रतिवादीलाई थुनामा नै राखी मुद्दा अनुसन्धान गर्नुपर्ने सम्मको अवस्था नदेखिंदा प्रतिवादीलाई हाजिरी जमानीमा राखी मुद्दा अनुसन्धान गर्नु भनी प्रस्तुत आदेश गरिदिएको छ।’  

अदालत समक्ष उपस्थित गराइएका भट्टका तर्फबाट वरिष्ठ अधिवक्ता लवकुमार मैनाली र  सूर्यप्रसाद कोइरालाको बहस गरेका थिए । यस्तै अदालतले जिल्ला प्रहरी परिसर टेकुको मिसिल अध्ययनसमेत  गरेको थियो । भट्टविरुद्ध उनीसँगै कम्पनीमा शेयर सदस्य रहेका ४ जनाले जाहेरी दिएपछि पक्राउ परेका थिए । 

 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १७:२६
Weather Update