News Griha :: न्यूजगृह
विद्युत आपूर्ति बन्द हुँदा उद्योगहरूको उत्पादन ठप्प

विराटनगर लामो समयदेखि विवादित रहेको डेडिकेटेड र ट्रंक लाइकन विद्युत महशुलको विषयलाई लिएर विद्युत प्राधिकरणले उद्योगहरूको उत्पादन ठप्प हुनेगरि विद्युत लाइन काटिएको सम्बन्धमा उद्योगीहरूले ध्यानाकर्षण भएको जनाएका छन् ।

उनीहरूले बिहीबार विज्ञप्ति जारी गर्दै उद्योगहरूमा विद्युत आपूर्ति काटिँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूमा कस्तो सन्देश जाला भनेर प्रश्न उठाएका छन् । उत्पादन ठप्प हुँदा रोजगारी, राजश्व तथा बैंक व्याज भुक्तानी, बजार शृङ्खला लगायतको क्षेत्र प्रभावित भएको उनीहरूले जनाएका छन् ।

विद्युत आपूर्ति बन्द भइ औद्योगिक कलकारखाना बन्द हुँदा उत्पादन प्रभावित भएको तर सरकारले समस्याको गम्भीरतालाई आत्मसात गरी न्यायोचित समाधानका लागि पहल गर्न नसकेको जनाइएको छ । डेडिकेटेड र ट्रंक लाइन विद्युत महशुलका सम्बन्धमा लामो समयदेखि नेपाल विद्युत प्राधिकरण र प्रभावित उद्योगीहरूबीच हुँदै आएको रस्साकस्सी र आ–आफ्नो अडानका कारण पेचिलो बनेको यो विषयलाई न्यायोचित समाधान खोजिनु पर्दछ भन्ने माग उद्योगीले अघि सारेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘विद्युत आपूर्ति कटौती गरी उद्योग कलकारखाना बन्द गर्दा सिर्जना हुने थप जटिलतालाई आत्मसात गर्दै हाल उद्योगहरूमा काटिएको विद्युत आपूर्तिलाई अविलम्व सुचारु गरी त्रिपक्षीय सरोकारवालाहरू नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्र समेतको समन्वयमा विवादित विषयलाई न्यायोचित निरुपण गरी निजी क्षेत्रले समेत न्याय अनुभूति गर्नेगरी तत्काल ठोस कदम चाल्न नेपाल सरकार तथा सम्बन्ध सबै सरोकारवालाहरूमा जोडदार माग गर्दछौँ ।’

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल र नेपाल उद्योग परिसङ्घका अध्यक्ष पवन सारडाले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा समस्याको तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १६:३३
Weather Update