News Griha :: न्यूजगृह
पक्राउ परेकी मन्त्री अनिता देवी बसिन अनशन

काठमाडौं— माइतीघरबाट पक्राउ परेकी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले पुलिस क्लबमा अनशन सुरु गरेकी छन् ।

मन्त्री देवी सोमबार बिहान धोती दिवस मनाउन माइतीघर मण्डलमा भेला हुने क्रममा पक्राउ परेकी थिइन् ।  ‘धोतीलाई राष्ट्रिय पोशाकको मान्यता दिइनुपर्ने, पक्राउ परेका नेताकार्यकर्तालाई अविलम्ब रिहा गरिनुपर्ने माग राखेर उहाँले अनशन सुरु गर्नुभएको छ,’ प्रहरी नियन्त्रणमै रहेका जनमत पार्टीका सचिव बीपी साहले भने ।  

जनमत पार्टीले अंग्रेजी नयाँ वर्षका दिन धोती दिवस मनाइनुपर्ने माग राख्दै माइतीघरमा प्रदर्शन गरेको थियो ।

धोतीलाई राष्ट्रिय पोशाकको मान्यता दिइनुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका जनमत पार्टीका अध्यक्ष सीके राउत, मन्त्रीसमेत रहेकी केन्द्रीय सचिव अनीता देवीलगायत ६३ जना नेता कार्यकर्तालाई निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । 

उनीहरूलाई पुलिस क्लब परिसरमा राखिएको छ । 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १४:०१
Weather Update