News Griha :: न्यूजगृह
मानवीय त्रुटिले पोखरामा यती एअरलाइन्सको विमान दुर्घटना : जाँचबुझ आयोग   

काठमाडौं— गत वर्षको माघ १ गते पोखरा विमानस्थलमा अवतरणका क्रममा भएको यती एअरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिलाई मुख्य कारण मानिएको छ ।

६८ जना यात्रु र चारजना चालक दलका सदस्य बोकेको यतीको उक्त विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण दुर्घटनामा परेको निष्कर्षसहितको प्रतिवेदन बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीलाई बुझाएको हो । 
पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिनमा तयार पारेको उक्त प्रतिवेदनमा दुर्घटनाको कारणलाई मानवीय कमजोरी भनिएको हो ।

उक्त विमान दुर्घटना भएकै दिन सरकारले पूर्वसचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग बनाएको थियो ।

आयोगमा हवाई विज्ञ एवम् नेपाली सेनाका अवकाश प्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाश प्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मतसम्भार विषयका इन्जिनियर एकराजजंग थापा सदस्य थिए । त्यस्तै आयोगको सदस्यसचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलाई तोकिएको थियो ।

प्रतिवेदन बुझ्ने क्रममा मन्त्री किरातीले आयोगको सुझावलाई कडाइसाथ कार्यान्वयन गर्न मन्त्रालयमातहतका निकाय र अधिकारीलाई निर्देशन दिए ।

yati air-pokhara21680510480.jpeg

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्य लिएर पोखराका लागि उडेको यती एअरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरास्थित सेती खोँचमा खसेर दुर्घटना भएको थियो ।

जहाजमा चालक दलको नेतृत्व क्याप्टेन कमल केसीले गरेका थिए । तर जहाजका मुख्य चालक क्याप्टेन केसी सहचालकको सीटमा थिए। सहचालक अञ्जु खतिवडा मुख्य चालकको सीटमा थिइन् । उनको त्यो अन्तिम प्रशिक्षण उडान थियो । त्यो उडानमा सफलता मिलेको भए उनी मुख्य पाइलटको जिम्मेवारीमा पुग्ने थिइन् । 

पोखराको आकाशमा पुगेपछि प्रशिक्षक पाइलट केसीले खतिवडालाई जहाज अवतरणका लागि निर्देशन दिइरहेका थिए । अन्तिम अवस्थासम्म इन्जिनमा पावर नआएपछि केसीले जहाज अवतरणको नेतृत्व लिएका थिए ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १८:१९
Weather Update