News Griha :: न्यूजगृह
नेपालमा जहाज दुर्घटना : मानवीय त्रुटी कि यान्त्रिक गढबढी? 

काठमाडौं— गत १ माघमा ६८ यात्रु बोकेर पोखरा उडेको यती एअरलाइन्सको विमान सेती खोँचमा दुर्घटनामा पर्यो । दुर्घटनामा चालक दलका ४ सदस्य र ६८ यात्रुको मृत्यु भयो ।

उक्त दुर्घटना नेपालको आन्तरिक उडानमा भएको सबैभन्दा ठूलो विमान दुर्घटना थियो । दुर्घटनापछि विभिन्न कोणबाट विश्लेषण भयो । दुर्घटना भएकै दिन सरकारले कारण पत्ता लगाउन पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा ५ सदस्यीय जाँच समिति गठन गर्यो । 

yati air- pokhara1680509827.jpg
गत १ माघमा पोखरास्थित सेती खोँचमा दुर्घटनामा परेको यती एअरलाइन्सको विमान ।
 

उक्त जाँच आयोगले ३ फागुनमा प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिसकेको छ । यद्यपि, थप अध्ययन जारी छ । प्रतिवेदनले मानवीय कमजोरी ‍दुर्घटनाको कारण हुनसक्ने सङ्केत गरेको छ तर यो अन्तिम निष्कर्ष भने होइन् । यान्त्रिक गडबडीले पनि दुर्घटना भएको जस्तो देखिएको तर्फसमेत जाँच आयोगले सङ्केत गरेको छ । १ माघमा भएको दुर्घटना नेपालको आन्तरिक उडानमा भएको सबैभन्दा ठूलो विमान दुर्घटना हो।  

प्रारम्भिक प्रतिवेदनमा के छ ? 

काठमाडौंबाट उडेर पोखरामा दुर्घटना हुँदासम्मका घटनाक्रमलाई प्रतिवेदनमा क्रमैसँग समटिएको छ। काठमाडौंबाट बिहान १०ः३० बजे उडेको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । फ्लाइट डेटा रेकर्डर (एफडीआर) तथा ककपिट भोइस रेकर्डर (सीभीआर)मा रेकर्ड भएका विवरणको आधारमा प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको जाँच आयोगको भनाई छ।

अवतरण गर्ने समयमा जहाजका दुवै इन्जिनका प्रोपेलरहरू फेदरको अवस्थामा किन गए भन्ने एउटा दायरा तय गरिएको छ। प्रतिवेदनका अनुसार उक्त जहाजका मुख्य चालक क्याप्टेन कमल केसी सहचालकको सीटमा बसेका थिए भने सहचालक अञ्जु खतिवडा मुख्य चालकको सीटमा बसेकी थिइन्। प्रशिक्षक पाइलटसमेत रहेका केसीले खतिवडालाई निर्देशन दिइरहेका थिए। तर अन्तिम अवस्थासम्म पनि इन्जिनमा पावर नआएपछि केसीले नै जहाज अवतरणको ‘कमान्ड’ सम्हालेका थिए। 

yati air-pokhara21680510480.jpeg
पोखरामा दुर्घटनामा परेको यति एअरलाइन्स । 

पोखरा विमानस्थलको एअर ट्राफिक कन्ट्रोलर (एटीसी) कर्मचारीले जहाजलाई पूर्वतर्फको छेउ अर्थात् रनवे ‘थ्री जीरो’बाट अवतरण गर्न निर्देशन दिएका थिए। तर चालकको अनुरोधमा एटीसी कर्मचारीले त्यसलाई पश्चिमतर्फको प्रवेशबिन्दुबाट अवतरणको अनुमति दिइएको प्रतिवेदनले पुष्टि गरेको छ। प्रतिवेदनमा सावधानी जनाउने सङ्केतहरूलाई चालकले वेवास्ता गरेकोतर्फ पनि प्रतिवेदनले सङ्केत गरेको छ। नेपालमा भएका दुर्घटनामा प्रायः पाइलटलाई नै दोषी ठहराइन्छ।  

जोमसोम विमान दुर्घटनामा पाइलटकै त्रुटि 

गत १५ जेठमा पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको ट्वीनअटर जहाज दुर्घटनामा चालक दलको त्रुटि भेटिएको छ । उक्त जहाज मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित २२ जनाको मृत्यु भएको थियो। जहाज दुर्घटनापछि गठन भएको जाँच आयोगले अन्तिम प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बुझाइसकेको छ।

प्रतिवेदन अनुसार जहाजमा अगाडिको पहाड र त्यसको जोखिमबारे जानकारी दिने ‘टेरेन अभोइडेन्स एण्ड वार्निङ सिस्टम (टीएडब्लूएस) बन्द (अफ) गरिएको थियो। सोहीकारण चालक दलले जहाजबाट अगाडि पहाड छ भन्ने जानकारी पाउन सकेनन्। जहाजमा राखिएका प्रणालीहरुलाई सही तरिकाबाट उपयोग गर्न नसक्दा जहाज सिधै पहाडमा ठोक्किन पुगेको जाँच आयोगको ठहर छ । सरकारले दुर्घटनाको भोलिपल्ट अर्थात् १६ जेठमा जाँच आयोग गठन गरेको थियो । पाइलट प्रभाकर घिमिरेले दुर्घटनामा परेको जहाज उडाएका थिए। उनी कम्पनीको सेफ्टी डाइरेक्टरसमेत थिए । जहाजमा उत्सव पोखरेल को–पाइलटको भूमिकामा थिए। एयरहोस्टेस किस्मी थापा थिइन् ।

air crash21680509577.jpg
गत १५ जेठमा पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको ट्वीनअटर जहाजको दुर्घटनास्थल । उक्त जहाज मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनामा परेको थियो । 

जाँच आयोगका अनुसार मौसमसमेत दुर्घटनाको सहायक कारण हो। जहाजमा रहेका नेभिगेसन उपकरणहरुलाई कम उपयोग गरिएको कारण सम्भावित जोखिमबारे चालकदलले अन्दाज गर्न नसकेको निष्कर्ष आयोगले निकालेको छ। हरेक दुर्घटनापछि जाँचबुझ आयोग बन्ने गरेको छ, तर दुर्घटनाको क्रम भने रोकिएको छैन।  

नेपालमा विमान दुर्घटनाको इतिहास

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १ माघमा भएको यति एअरको जहाज दुर्घटना ५८ औं हो । नेपालमा प्राधिकरणका अनुसार दुई वटा इन्जिन भएका ४९ र सिंगल इन्जिन भएका ८ वटा जहाज दुर्घटनमा परेका छन् । नेपालको आन्तरिक उडानतर्फ पहिलो दुर्घटना विसं २०१८ सालमा भएको थियो । भैरहवामा भएको नाइन–एन एएडी जहाज दुर्घटनामा ४ जना यात्रुले ज्यान गुमाएका थिए ।

यस्तै, नेपालको हवाई इतिहासमा हेलिकप्टर दुर्घटनाको संख्या ३६ पुगेको छ । नेपालमा पहिलो हेलिकप्टर दुर्घटना सन् १९७९ मा लाङटाङमा भएको थियो । उक्त हेलिकप्टरमा भीभीआईपी सवार थिए । पछिल्लो पटक सन् २०१९ मा मनाङ एअरको एनएन–एएलसी हेलिकप्टर दुर्घटनामा परेको थियो ।
पहिलो एटीआर दुर्घटना
एटीआर जहाज सबैभन्दा सुरक्षित मानिन्छ । नेपालमा बुद्ध एअरसँग सबैभन्दा धेरै १४ वटा र यति एअरलाइन्ससँग ६ वटा एटीआर जहाज छन् । १ माघमा दुर्घटनामा परेको जहाज एटीआर ७२–५०० विमान थियो । तर एटीआर जहाज नै दुर्घटनामा पर्‍यो । 

जहाज दुर्घनामा कतिले गुमाए ज्यान? 

नेपालको आन्तरिक उडानमा भएको दुर्घटनामा ४०२ जनाले ज्यान गुमाएका छन् । प्राधिकरणका अनुसार १ माघको घटनाअघि नै नेपालको आन्तरिक उडानमा भएका दुर्घटनामा ३६३ जना यात्रुको मृत्यु भएको थियो । दुर्घटनाग्रस्त विमानमा सवार १३९ जना यात्रुको जीवितै उद्धार भएको रेकर्ड प्राधिकरणसँग छ ।  
नेपालमा भएको ठूलो दुर्घटना

नेपाली आकाशका भएको अहिलेसम्मकै ठूलो दुर्घटना भने सन् १९९२ मा भएको थियो । ललितपुरको भट्टेडाँडामा पाकिस्तान एअरको जहाज दुर्घटना हुँदा १६७ जना यात्रुको ज्यान गएको थियो । सोही वर्ष थाई एअरको जहाज दुर्घटनामा ११३ यात्रुले ज्यान गुमाए ।

पछिल्लो पटक सन् २०१८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बङ्ला कम्पनीको जहाज दुर्घटनामा ५१ यात्रुको ज्यान गएको थियो । अहिलेसम्म नेपालमा १० वटा विदेशी मुलुकका जहाज दुर्घटनामा परेका छन् र ३७३ जना यात्रुले ज्यान गुमाएका छन् । 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १४:३०
Weather Update