पशुपतिनाथ मन्दिर परिसरबाट अपहरणमा परेकी नाबालिका अपहरण मुक्त

काठमाडौं— गौशालाबाट अपहरणमा परेकी दुई वर्षीया बालिकाको उद्धार गरिएको छ । पशुपतिनाथ मन्दिरको १ नम्बर गेटबाट मंगलबार साँझ ती बालिका हराएकी थिइन् ।
उनलाई भक्तपुरस्थित सूर्यविनायक नगरपालिकास्थित दधिकोटबाट अपहरण मुक्त गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय स्रोतले बतायो । अपहरणमा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बालिकाका अभिभावक पशुपतिनाथ मन्दिरको गेटमा चिया पसल चलाउँछन् । पीडित परिवारले चिया खान आएकाहरूले जबरजस्ती बालिका बोकेर लगेको प्रहरीलाई बताएका छन् ।
घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेका छन् ।
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८० ११:४०













