News Griha :: न्यूजगृह
बजेट दुरुपयोगको बेथिति अन्त्य गर्दैछौँ : अर्थमन्त्री महत

चितवन अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट दुरुपयोगको बेथिति अन्त्य हुने बताएका छन् ।

१७ औं चितवन हात्ती तथा पर्यटन महोत्सवको मंगलबार सौराहामा उद्घाटन गर्दै उनले आवश्यक बजेट मन्त्रालयले माग गर्ने व्यवस्था भइरहेको भन्दै आन्तरिक बजेटमा अनुशासनहीनता घट्ने बताए ।

‘तीन करोडभन्दा कमको आयोजना केन्द्रले अगाडि बढाउँदैन । एक करोडभन्दा कमको आयोजना प्रदेशले हाल्दैन, एक करोडभन्दा तलको आयोजना स्थानीय सरकारले गर्ने कार्यविधि आइसकेको छ,’ उनले भने, ‘राष्ट्रिय गौरवको आयोजनाबाहेक चार गुणाभन्दा बढी नगर्ने निर्णय भएको छ । अर्को वर्षबाट बहुवर्षे आयोजनामा बजेट नराख्ने र ठेकेदारले दाबी गर्ने परम्पराको अन्त्य हुनेछ । जति बजेट आवश्यक हो, त्यो मन्त्रालयले माग गर्ने व्यवस्था हुँदैछ । यसले आन्तरिक बजेटमा अनुशासन, बेथितिको अन्त्य हुँदैछ ।’

अहिलेको मौद्रिक नीतिले कर्जामा लगानी बढाउने, ब्याजदर घटाउने भन्दै उनले उपभोक्ताले उपभोग गर्न गाह्रो मान्न नपर्ने बताए । अहिले आर्थिक सूचकहरू विस्तारै सकारात्मक भई बढी पर्यटक आगमन पनि बढेको भनाइ उनले राखे । जलविद्युत, कृषि व्यापार, पर्यटन र सूचना प्रविधिले मुलुकको अर्थतन्त्रलाई अर्को तहमा पुर्‍याउने भन्दै उनले स्वदेशमै लगानी र प्रतिफलको अवसर खोज्न सकिने बताए ।

‘जलविद्युत, कृषि व्यापार, पर्यटन र सूचना प्रविधिले नेपालको अर्थतन्त्रलाई अर्को तहमा पुर्‍याउँछ । अवसर यहीँ छ, युवाहरूले सूक्ष्म दृष्टिले यहाँका अवसरहरू खोज्नुपर्छ । यो देशमा धेरै गर्न बाँकी रहेकाले अवसर यहीँ छ,’ उनले भने ।

मन्त्री महतले चितवनका आदिवासी थारूहरूलाई सम्बोधन गर्दै जिल्लाको संस्कृति, सभ्यता, भाषा र रीतिरिवाज संरक्षण गर्न तथा संसारलाई चिनाउन उनीहरूको ठूलो भूमिका रहेको बताए । 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १७:००
Weather Update