एमाले सांसद कोइरीको निलम्बन फुकुवा

काठमाडौं— संघीय संसद् सचिवालयले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा गरेको छ ।
सांसद कोइरीमाथि मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेपछि निलम्बनमा परेका थिए ।
अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार कोइरीले अघिल्लो वर्ष महोत्तरी क्षेत्र १ बाट चुनाव जितेका थिए ।
फौजदारी कसुरमा अदालतले थुनामा पठाउने निर्णय गरेपछि कोइरी सांसद पदबाट निलम्बनमा परेका थिए । गत मंसिर २८ गते जिल्ला अदालत महोत्तरीले कोइरीलाई सफाइ दिएको थियो ।
जिल्ला अदालतको आदेशको प्रतिलिपिसहित निलम्बन फुकुवाको निवेदन आइतबार दिउँसो संसद् सचिवालयमा पुगेपछि कोइरीको निलम्बन फुकुवा गरिएको संघीय संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले बताए ।
प्रकाशित मिति: आइतबार, पुस ८, २०८० १८:३९