News Griha :: न्यूजगृह
प्रहरी हत्या आरोपमा सफाइ पाएका सांसद कोइरीले दिए निलम्बन फुकुवाको निवेदन

काठमाडौं— नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले सांसद पदको निलम्बन फुकुवा माग गर्दै संघीय संसद् सचिवालयमा निवेदन दिएका छन् । 

जिल्ला अदालत महोत्तरीबाट सफाइ पाएकाले सांसदको रुपमा संघीय संसद्‌मा सहभागी हुन पाउनुपर्ने माग उनले निवेदनमा गरेका छन् । संघीय संसद्‌का निमित्त महासचिव पदमप्रसाद पाण्डेयले निवेदन आएको बताए । ‘पत्र प्राप्त भएको छ, निर्णयको प्रक्रियामा छ’, उनले भने ।

मधेस आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार रहेका कारण महोत्तरी– १ बाट निर्वाचित कोइरी हाल निलम्बित अवस्थामा छन् । 

मंसिर २८ मा महोत्तरी जिल्ला अदालतले थमन बिक हत्याको मुद्दामा सफाइ दिएपछि सांसद कोइरीले निलम्बन फुकुवा गर्न र अहिलेसम्मको सेवा सुविधा माग गर्दै संघीय संसद् सचिवालयमा पत्र लेखेका हुन् ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १५:४५
Weather Update