News Griha :: न्यूजगृह
रवि लामिछानेले खोया प्रहार गर्ने युवक र उनको परिवारलाई भेट्ने
फाइल तस्बिर ।

कास्की— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले एक/दुईवटा आक्रमण र मुद्दाबाट आफू विचलित नहुने जनाएका छन् ।

शनिबार पोखराको अमरसिंहचोकमा भएको सभामा उनीमाथि मकैको खोया प्रहारपछि लामिछानेले यो अहिलेको नेतृत्वविरुद्ध जनताको वितृष्णाको उपज भएको टिप्पणी गरेका हुन् ।

खोया प्रहार गर्ने व्यक्ति र उनको परिवारलाई भेट्न आफू जाने सुनाउँदै उनले भने, ‘न मुद्दा, न मामिला उहाँलाई बुझाइदिनु होला । माला लगाएर घर छाडिदिनू होला । देशको पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री भएकाले यो सुरक्षाकर्मी साथीहरूलाई मेरो अनुरोध र निर्देशन पनि भयो । म उहाँको परिवारलाई भेट्न म छुट्टै जानेछु ।’ 

उनले प्रहारको बदलामा एउटा फूल रोपेर जाने सुनाए । उनी भन्छन्, ‘मनबाट गल्ती भयो भनेर महसुस हुने गरी काम गरी फेरि यही चोकमा आएर कुरा गर्ने छु ।’ यसलाई जनताले दिएको चेतावनी ठानेको उनले सुनाए । 

लामिछानेले आफूले नबिराएको दाबी गर्दै आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गरे । ‘हामी आत्तिएका छैनौँ, अघिल्लो सात जन्मको हिसाब निकाले पनि अनियमितता पत्ता लगाउन सक्दैनन् । जति पटक लडिए पनि उडेर हिँड्छु । एक आक्रमण, मुद्दाबाट पछि हट्ने सुविधा मलाई छैन,’ उनले भने । 

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १८:४३
Weather Update