पोखरामा रवि लामिछानेमाथि खोया प्रहार, २८ वर्षीय युवक पक्राउ

कास्की— पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार भएको छ ।
अमरसिंहचौरस्थित खेल मैदानमा भएको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक युवकले खोया प्रहार गरेका हुन् । उनी बोल्दै गर्दा अगाडिबाट खोयाले हानिएको सहभागीहरूले बताएका छन् ।
ती व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीले भने मकै खाँदै गरेका युवकले खोया फाल्ने क्रममा झुक्किएर स्टेजतिर गएको बताएका छन् ।
कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई नियन्त्रणमा लिएको बताए ।
‘उनी मकै खाएर बसेका रहेछन् । खोया फाल्ने क्रममा स्टेजतिर गएको भन्ने छ,’ उनले भने, ‘कार्यकर्ताले चाहिँ ढुंगा हानेको भनेर आक्रमण गरेछन् । उनी हाम्रो नियन्त्रणमा छन् ।’
प्रत्यक्षदर्शीका अनुसार उनले ताकेरै लामिछानेलाई प्रहार गरेका हुन् ।
प्रकाशित मिति: शनिबार, पुस ७, २०८० १८:३४