News Griha :: न्यूजगृह
आयल निगमको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

काठमाडौं— नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरिएको छ ।

नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा लिमिटेडको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिद्वारा दरखास्त आह्वान सम्बन्धी सूचना प्रकाशित गरेको हो ।

आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त भएको हो । लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकोले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूका लागि सूचना प्रकाशित गरिएको उल्लेख छ ।

सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र कार्यालय समयमा मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा, सिंहदरबार, काठमाडौंमा दरखास्त दिन भनिएको छ ।

आवश्यक योग्यता, अनुभव, पेस गर्नु पर्ने कागजातलगायत विस्तृत विवरण मन्त्रालयको वेबसाइट www.moics.gov.np मा प्रकाशन गरिएको छ । थप बुझ्नुपर्ने भएमा मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखाको फोन नं.०१-४२११४९९ मा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  ०६:३०
Weather Update