
काठमाडौं— औषधि तथा औषधिजन्य उपकरणको बृहत् प्रदर्शनी ‘नेपाल फर्मा एक्स्पो २०२४’ आगामी फागुन २५ देखि २७ गतेसम्म चितवनमा हुने भएको छ ।
नेपाल औषधि उत्पादक संघ (एपोन) ले हरेक दुई दुई वर्षमा आयोजना गर्ने यो नवौँ संस्करण हो। यो एक्स्पोको आठौँ संस्करण पनि चितवनमै भएको थियो ।
एक्स्पोबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एपोनका अध्यक्ष महेश प्रधानले नेपालका औषधि उद्योगलाई अगाडि बढाउनका लागि समर्पित भएको बताए ।
नेपालमा औषधि उद्योगको दिगोपन र वृद्धिका लागि अगुवाइ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको एक्सोमा १५० बढी स्टल रहने बताइएको छ । जसमा नेपाल सहित भारत, सिंगापुर, बङ्गलादेशका कम्पनीहरूको बाहुल्यता रहने छ ।
एक्स्पोका संयोजक रहेका एपोनका बरिष्ठ उपाध्यक्ष प्रभात रुंगटाले औषधि क्षेत्रको ज्ञान आदानप्रदान, सहकार्यले यस क्षेत्रको वृद्धि र विकासको लागि नवीनतम प्रयोगको रुपमा रहने बताए । उनले सम्बन्धित सरोकारवाला, व्यावसायिकता, औषधि उत्पादन र निर्माण तथा प्रसोधन, औषधिमा प्रयोग हुने सामग्री प्याकेजिङ, मेसिनरी ल्याब, एनालिटिकल, ओइएम, आउटसोर्सिङ रहने बताए ।
एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले एल्माक प्याकेज प्रालि प्लाटिनम स्पोन्सर, एचभीएएक्स मेसिनरी प्रालि र प्यासिफिक लिमिटेड डाइमन्ड स्पोन्सर, एनपीएम मेसिनरी प्रालि गोल्ड स्पोन्सरको रुपमा निश्चित भएको बताए।
उनले एक्स्पोमा ३० हजार बढीको सहभागिता हुने अपेक्षा गरिएको समेत जानकारी दिए।