News Griha :: न्यूजगृह
अटिजम समस्या गाउँमा भन्दा सहरमा बढि
सांकेतिक तस्बिर ।

चितवन— बागमती प्रदेशमा एक हजार दुई सय ५३ जना अटिजम समस्याबाट ग्रसित छन् ।

तीमध्ये काठमाडौंमा चार सय ९५, चितवनमा एक सय १३, ललितपुरमा ८३, भक्तपुरमा ७८ र मकवानपुरमा ७७ जना रहेका छन् । त्यसैगरी, काभ्रेमा ७५, धादिङमा ७०, नुवाकोट र सिन्धुलीमा ६५/६५, सिन्धुपाल्चोकमा ५४, दोलखामा ३३ र रसुवामा १७ जना  छन् ।

Prabhu Bank

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले चितवनमा आयोजना गरेको अटिजमसम्बन्धी कार्यशाला गोष्ठीमा दिइएको तथ्याङ्कअनुसार नेपालमा हाल अटिजम समस्याबाट ग्रसित चार हजार आठ सय ८६ जना रहेका छन् ।  मन्त्रालयका विज्ञ चिकित्सक डा शाकार खनालका अनुसार विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कलाई आधार मान्ने हो भने एक सयमा एक जनामा गरी करिब तीन लाख जनामा यो समस्या रहेको अनुमान गरिएको छ ।

एकजना महिला बराबर चारजना पुरुषमा यो समस्या हुने देखिएको उनले जानकारी दिए । उनले भने, ‘भौगोलिक अवस्थाअनुसार हिमालमा तीन सय २८, पहाडमा दुई हजार दुई सय २९, तराईमा दुई हजार तीन सय २९ जनामा यो समस्या रहेको छ ।’ अटिजम समस्या गाउँमा भन्दा सहरी क्षेत्रमा बढिरहेको कार्यक्रममा जानकारी दिइयो । गाउँमा एक हजार सात सय २८ र सहरमा तीन हजार एक सय ५८ जनामा यो समस्या देखिएको तथ्याङ्कमा उल्लेख छ । 

अटिजम केयर नेपाल सोसाइटीका सुरेन्द्र बज्राचार्यका अनुसार अटिजम रोग नभई समस्या हो । नेपालमा अटिजम भएको १८ महिनादेखि पत्ता लाग्ने गरेको उनले बताए । उनले भने, ‘विश्वका विभिन्न देशमा ६ महिनादेखि समस्या पत्ता लगाउने गरेको भए पनि नेपालमा भने १८ महिनापछि मात्र पत्ता लाग्ने गरेको छ ।’

नेपालमा रहेका अङ्गहरूमध्ये ० दशमलब ८० प्रतिशत अटिजमका रहेको जनाउँदै उनले अटिजम जन्मजात आउने अवस्था रहेको बताए । यो समस्या वंशाणुगत, वातावरण र सङ्क्रमणका कारणले हुने गर्दछ । यसको अहिलेसम्म उपचार नभएको जनाउँदै उनले विभिन्न किसिमको थेरापी तथा पुनर्स्थापनाले सुधार गर्न सकिने जानकारी दिए ।

 कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य सचिव दीपक तिवारीले अटिजम भएकाको विषयमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकारले पहिलोपटक प्रयास गरेको बताए । यस प्रकारका कार्यक्रमले सरकारका भावी कामहरु र वास्तविक तथ्याङ्क सङ्कलनमा सहज हुने उनको भनाइ थियो ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १०:२०
Weather Update