-1702883898.jpg)
काठमाडौं— ललितपुर महानगरपालिकामा आजदेखि स्वास्थ्य बीमा सुरु भएको छ ।
महानगरको १०५ औं स्थापना दिवसको अवसरमा सोमबार महानगरभित्र स्वास्थ्य बीमा सुरु गरिएको हो ।
दुई जनालाई विद्युतीय कार्ड वितरण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य बीमाको उद्घाटन गरे । २०७२ चैत्र २५ गते पहिलो पटक कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो । लगत्तै यो कार्यक्रम देशभर लागू गरिएको हो ।
स्वास्थ्य बीमा कसरी गर्ने?
स्वास्थ्य बीमा कार्यक्रम सामाजिक सुरक्षा अन्तर्गतको कार्यक्रम हो । ५ जना सदस्य भएका प्रतिपरिवारले वार्षिक ३ हजार ५ सय रुपैयाँ, ६ देखि ७ जना सदस्य भएका प्रतिपरिवारले वार्षिक ४ हजार ७ सय र १० जना सदस्य भएका प्रतिपरिवारले वार्षिक ७ हजार रुपैयाँमा स्वास्थ्य बीमा गर्न सक्छन् ।
स्वास्थ्य बीमा गरेका परिवारका सदस्यले वार्षिक १ लाख बराबरको निःशुल्क उपचार सेवा पाउने गर्दछन् । उक्त सुविधा देशभरका निजी र सरकारी गरेर ४ सय ६६ स्वास्थ्य संस्थाबाट लिन सकिन्छ ।