News Griha :: न्यूजगृह
बार्गेन पर्चेज र एफपीओको लाभबाट ४१ संस्थाले बुझाए राजस्व, दुई दिनमै करिब १३ अर्ब रुपैयाँ संकलन

काठमाडौं— मर्जर, प्राप्तिबाट हुने लाभ (बार्गेन पर्चेज) र एफपीओको लाभबाट हुने लाभकर अन्तर्गत साढे १२ अर्ब ८१ करोड रुपैयाँ राजस्व उठेको छ । ठूला करदाता कार्यालयमा शुक्रबार र शनिबार गरी यो राजस्व जम्मा गरिएको हो ।  

कार्यालयका अनुसार शुक्रबार र शनिबार ४ बजेसम्म एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनबाट उक्त रकम राज्य कोषमा दाखिला भएको हो ।

शुक्रबारमात्रै ३० संस्थाले ११ अर्ब ३ करोड यस्तो कर दाखिला गरेका थिए । शनिबार थप ११ संस्थानले एक अर्ब ४४ करोड रुपैयाँ दाखिला गरेका ठूला करदाता कार्यालयका प्रमुख जनक शर्माले बताए ।

४१ वटा संस्थाले नै एफपीओबाट हुने लाभको कर बुझाएका छन् भने तीमध्ये १४ वटा संस्थाले एफपीओ र बार्गेन पर्चेजबाट भएको लाभको कर पनि बुझाएको देखिएको छ ।

यी दुवै शीर्षकका कर चालु आर्थिक वर्षदेखि उठाउन थालिएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक ऐनको दफा २६ र २७ मा जरिवाना र ब्याज छुटको प्रावधान लिएर यस्तो करमा सहभागी हुनलाई प्रोत्साहन गर्ने नीति लिएका थिए । यसअघि महालेखा परीक्षकको कार्यालयले पटक पटक यस्तो कर उठाउनको लागि सरकारलाई निर्देशन जारी गरे पनि करको अर्थ मन्त्रालय र कर प्रशासन मौन बसेको थियो । 

चालु वर्षको आर्थिक ऐनबाट यस्तो व्यवस्था गरिएपछि बैङ्करहरूले असन्तुष्टि जनाएर कानुनी उपचारमा गएका थिए । आईपीओ वा एफपीओबाट उठाएको पैसा पुँजी भएको तर लाभ नभएको तथा बार्गेन पर्चेजबाट कर उठाउने व्यवस्था नगरिएको जिकिर गरेका १६ बैंकहरूले हालेको रिट बिहीबार सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गरेको थियो । योसँगै जरिवाना र ब्याजबाट बच्नको लागि बैंकहरूले शुक्रबार यस्तो कर बुझाउन थालेका थिए ।

मंसिर मसान्तसम्म यस्तो रकम दाखिला गरे ब्याज र जरिवाना नलाग्ने सुविधा दिइएको छ । 

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १९:५०
Weather Update