
काठमाडौं— स्वास्थ्य बीमा बोर्डले अब एकपटक रेफर भई आएका बिमित बिरामीलाई सोही रोगका लागि फेरि रेफर पुर्जी लिन नपर्ने व्यवस्था गरेको छ ।
बोर्डका निमित्त कार्यकारी निर्देशक डा मदनकुमार उपाध्यायले कुनै रोगका लागि एकपटक रेफर गरेपछि फलोअपमा अर्को कुनै रोगका लागि फरक अस्पतालमा जानका लागि रेफर लिन नपर्ने निर्णय गरेको हो ।
'यसअघि अस्पताललाई फलोअपमा आउँदा पुनः रेफर गरेर आउनु भन्ने गरेको थियो । सो रोगका उपचार गर्न आउने बिरामीलाई सहजीकरण होस् भनेर एकपटक रेफर गरेपछि रोग निक्र्योल नहुँदासम्म फलोअपका लागि आउँदा पुनः रेफर पुर्जी लिई रहन नपर्ने व्यवस्था मिलाउने गरेका छौँ,' उनले भने ।
यसअघि सोही रोगका लागि पुनः उपचार गर्नका लागि रेफर पुर्जी लिएर आउनुपर्ने व्यवस्था थियो । बोर्डले असारसम्मको भुक्तानीलाई शून्यमा झार्नेका लागि विज्ञ समूह बनाएको पनि उनले जानकारी दिए । स्वास्थ्य संस्थाले दाबी गरेका भुक्तानीलाई असार मसान्तसम्म शून्यमा झार्नका लागि पाँच सदस्यीय विज्ञ समूह गठन गरिएको छ ।
समूहले सेवा प्रदायक स्वास्थ्य संस्थाबाट पेस भएका दाबीलाई पुनरावलोकन गर्नका लागि सातै प्रदेशमा परिचालन भई अनुगमन गर्ने छन् ।
विज्ञ समूहमा चिकित्साशास्त्रमा स्नातकोत्तर गरेको विशेषज्ञ चिकित्सक, एकजना मेडिकल अधिकृत, एकजना फार्मेसी अधिकृत, बोर्डको दाबी व्यवस्थापन शाखाबाट एकजना र आईटी शाखाबाट एकजना रहन जनाइएको छ । एक महिनाभित्र दाबी पुनरावलोकन गर्ने छन् ।
यस्तै बोर्डले नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीले अब तीन–तीन महिनाको औषधि पाउने भएको उनले बताए । यसअघि दीर्घरोगीलाई बीमा कार्यक्रममार्फत एक–एक महिनाका लागि औषधि दिने गरिन्थ्यो ।
बोर्डले स्वास्थ्य बीमाको सुविधा थैली अन्तर्गतको औषधिको शुल्क समयानुकूल समायोजन गर्न समिति बनाई एक महिनाभित्र प्रतिवेदन पेस गर्नेसमेत निर्णय गरेको छ । औषधिको शुल्क तीन वर्षमा समायोजन गर्ने भनिए पनि अहिलेसम्म गरिएको थिएन ।
२०७२ चैत २५ गते गुणस्तरीय स्वास्थ्य सेवालाई जनस्तरसम्म पुर्याउनका लागि स्वास्थ्य बीमा बोर्ड स्थापना गरिएको थियो । बीमाअन्तर्गत हाल रु एक लाखसम्म बिमित परिवारले निःशुल्क उपचार सेवा पाउँछन् ।
एकदेखि पाँच जनासम्मको परिवारले प्रत्येक वर्ष बिमितवापत तीन हजार पाँच सय र पाँच जनाभन्दा बढी भएको खण्डमा प्रत्येक एक जना बराबर थप सात सय थप्नुपर्छ ।
बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलका अनुसार हालसम्म ७४ लाख बिमित भए पनि करिब ४७ लाख मात्रै सक्रिय छन् ।