काठमाडौं— नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरूको अवस्था सुरक्षित रहेको बताएका छन् ।
मंगलबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले नेपालका बैंक वित्तीय संस्थाहरूको अवस्था सुरक्षित र स्वस्थ रहेको दाबी गरे ।
उनले तत्काल सानोतिनो धक्काले नेपालका बैंक तथा वित्तीय संस्थामा जाखिम नआउने बताए । सबै खालले वित्तीय संस्थाहरूको तथ्यांकहरू बलिया रहेको उनको भनाइ छ ।
उनले बैंक तथा वित्तीय संस्थाहरूमा तरलताको अभावको कारणले समस्या आउने अवस्था नभएको बताए । पछिल्लो समय बैंकहरूमा तरलता सहज हुँदै आएको जानकारी दिए ।
उनले विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास भूक्तानी कारोबारको लागि गरिएको सचेतना अभिवृद्धि, प्रोत्साहन र सर्वसाधरणको विद्युतीय भुक्तानी उपकरण प्रयोगले विद्युतीय भुक्तानी बढेको बताए । उनले बैंक तथा वित्तीय संस्थाहरू सुरक्षित बन्नुमा राष्ट्र बैंकको मजबुत नीति भएको दाबी गरे । उनले अर्थतन्त्रको शिथिलता आगामी दिनमा सुधार हुने बताए ।
उनले अधिकारीले बैंकर र व्यवसायीले आगामी दिनमा उच्च मनोबलका साथ काम गर्न आग्रह गरे ।
गभर्नर अधिकारीले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थामा रहेको उल्लेख गरे । उनले फागुनदेखि कर्जाको ब्याजदर स्थिर भएपनि बेसरेट घट्दो दरमा रहेको भन्दै ब्याजदर केही माथि रहेको बताए । उनले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थमामा पुगेको र मुद्रास्फीति घट्दो क्रममा रहेको बताए । उनले पुँजी पर्याप्तता नियामकीय व्यवस्था भन्दा माथि रहेको र निष्क्रिय कर्जा केही बढेपनि धेरै माथि नपुगेको बताए ।
राष्ट्र बैंकको तथ्याङ्क अनुसार पछिल्लो चार महिनामा निरन्तर रूपमा १ अर्ब रुपैयाँ भन्दा बढी रेमिट्यान्स भित्रिरहेको अवस्था देखिएको छ । चालु आर्थिक वर्षको औसत रेमिट्यान्स ९९ अर्बप्रति महिना भित्रिएको छ ।
यता सरकारको चालु खाता घाटामा सुधार भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार फागुन मसान्तसम्म चालु खाता ४४ अर्ब ३१ करोडले घाटामा छ । अघिल्लो वर्षको ८ महिनामा ४ सय ६० अर्बले ऋणात्मक रहेको चालु खाता घाटामा उल्लेख्य सुधार भएको हो ।
त्यस्तै, विदेशी विनिमय सञ्चिति पनि सुविधाजनक अवस्थामा देखिएको छ । गत असार मसान्तमा १२ सय १५ अर्बको सञ्चिति रहेकोमा अहिले १४ सय एक अर्ब सञ्चिति रहेको छ । फागुन मसान्तसम्म शोधनान्तर स्थिति (नेपालबाट बाहिरिने र भित्रीने विदेशी मुद्राको अन्तर) १ खर्ब ४८ अर्ब रुपैयाँले बचतमा गएको छ ।
माघ मसान्तसम्म १ खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति १५ अर्बले सुधार भएको हो । गत वर्ष फागुन मसान्तसम्म शोधनान्तर स्थिति २ खर्ब रुपैयाँले घाटामा थियो । असोज यता शोधनान्तर स्थिति निरन्तर बचतमा छ । चालु आर्थिक वर्षको ८ महिनामा रेमिट्यान्स आप्रवाह १४.८ प्रतिशतले बढ्नुको साथै आयात २० प्रतिशतले घटेपछि शोधनान्तर स्थिति बचतमा गएको हो ।
वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने पैसा बढेको छ । माघमा ५ खर्ब ८५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार चालु आर्थिक वर्षको फागुनमा मुद्रास्फीति ७.४४ प्रतिशत कायम भएको हो । माघ मसान्तसम्म महँगी ७.८८ प्रतिशत थियो । गत वर्षको तुलनामा भने महँगी बढेको हो ।