News Griha :: न्यूजगृह
असई थमन बिक हत्या प्रकरणमा लोसपा प्रदेश संसदीय दलका नेतासहित ७ जनालाई जन्मकैद

काठमाडौं— सशस्त्र प्रहरीका असई थमन बिक हत्या प्रकरणमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेस प्रदेश संसदीय दलका नेता अभिराम शर्मालाई जन्मकैदको फैसला भएको छ । उनलाई जिल्ला अदालत महोत्तरीले जन्मकैदको सजाय सुनाएको हो ।

मधेस आन्दोलनका क्रममा असई बिकको हत्याको अभियोग लागेका शर्मा यसअघि जिल्ला अदालत महोत्तरीको आदेशमा साधारण तारिखमा छुटेका थिए ।

प्रहरीको फरार सूचीमा रहेका बेला तत्कालीन राष्ट्रिय जनता पार्टीबाट प्रदेश सभा चुनाव जितेका उनी सामाजिक विकास राज्यमन्त्रीसमेत बनेका थिए ।

जिल्ला अदालत महोत्तरीका स्रेस्तेदार नुतन झाका अनुसार न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले शर्मासहित, संजयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको फैसला सुनाएको हो ।  

जन्मकैदको सजाय पाउने रामशंकर मिश्र जलेश्वर नगरपालिकाका पूर्व मेयर हुन् । यी दुईसहित चारजना तारेखमा छुटेका थिए ।

फरार रहेका प्रतिवादीहरूको हकमा मुल्तवी गरिएको छ । १९ जना फरार छन् । यो मुद्दाका रमेशप्रसाद साह, सतेन्द्र चौधरी, चन्देश्वर साह, राजु चौधरी, नरेश साह, रामराजा साह, गोलु साह, हरिओमकुमार भगत, रविन्द्र राम चमार, रञ्जित साह, बिकी साह, फुले यादव, रोहित कुमार शर्मा, लालबाबु बिन, शम्भु साह, अनित ठाकुर, अनिल ठाकुर, देवेन्द्र यादव र कौशल कुमार यादव फरार छन् ।

२०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा आन्दोलनकारीको तर्फबाट घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारको लागि जलेश्वरबाट जनकपुर लैजाँदै गर्दा एम्बुलेन्सबाट थुतेर कुटपिट गरी हत्या गरेको भन्दै २८ जनामाथि ज्यान मुद्दाको अभियोग लागेको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १८:१३
Weather Update