फोनपेको सञ्चालक समितिको अध्यक्षमा सशीन जोशी
काठमाडौं— फोनपेको सञ्चालक समितिको अध्यक्षमा सशीन जोशी नियुक्त भएका छन् ।
बुधबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्राले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
यसअघि उनी फोनपेको स्वतन्त्र सञ्चालकको रुपमा आवद्ध थिए । जोखिम व्यवस्थापन, रणनैतिक योजना र अन्तर्राष्ट्रिय व्यापारमा विशेष दखल राख्ने बैङ्करको रुपमा जोशी परिचित छन् ।
करिब दुई दशक भन्दा बढि समय उनी नेपालको प्रमुख बैंकिङ संस्थाहरूमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । सपथ ग्रहणपछि जोशीले फोनपे जस्तो संस्थाको अध्यक्षको रुपमा काम गर्न पाउँदा आफूलाई निकै खुसी लागेको बताए ।
फोनपे संस्थालाई अझै बढी सबल, सक्षम र नेपालको डिजिटल भुक्तानी प्रणालीको एउटा जिम्मेवार संस्थाको रुपमा विकास गर्ने उनले प्रतिवद्धता जनाए ।
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८० १५:५१