News Griha :: न्यूजगृह
कांग्रेस इतर समूहको बैठक आज 

काठमाडौं— नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज बस्दै छ ।

नेता डा. शेखर कोइरालाले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका छन् । यसअघि मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बुधबार सोही समयका लागि सरेको हो ।

नेता शेखर कोइरालाले आफूसँग परामर्श नगरी मंगलबार बोलाएको भन्दै महामन्त्री गगन थापा सहभागी नहुने परिस्थिति बनेपछि बैठक आजलाई सारिएको थियो । बैठकमा आगामी २९ गते बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक, आगामी पुस १६-१९ का लागि तय भएको महासमिति बैठक, राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा छलफल हुने छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाले जाडो बढेको, राष्ट्रिय सभा निर्वाचनको तयारी र आन्तरिक तयारी नपुगेको भन्दै महासमिति बैठक फागुनमा सार्ने प्रस्ताव परेका छन् । यसमा कांग्रेसका शीर्ष नेता सहमत देखिन्छन् ।

यस्तै आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन र पार्टीको आन्तरिक भागबन्डा बारे पनि इतर समूहले आज आफ्नो रणनीति बनाउने नेताहरू बताउँछन् ।  गठबन्धनमा कांग्रेसले बढीमा १० सिट पाउँदा इतर पक्षले तीन सिटमा सशक्त दाबी गर्ने छ ।   

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  ०७:११
Weather Update