News Griha :: न्यूजगृह
लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाउनै पर्ने बाध्यता किन आइपर्‍यो?

काठमाडौं— ललितपुरको झम्सिखेलमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ

ललितपुर महानगरपालिका वडा नम्बर ३ ठाडोढुङ्गा नजिकै एक रेष्टुरेन्टमा लागूऔषध कारोबारी बसेको सूचना पछि सादा पोसाकका प्रहरी त्यहाँ पुगेका थिए । सादा पोसाकका प्रहरीसँग लागूऔषध कारोबारी उदयपुर घर भएका अविनाश राईले ५५ लाख रुपैयाँमा एम्फेटामाइन आइस नामको लागूऔषध बिक्री गर्ने 'डिल' गरेका थिए ।

उनीसँग चार सय ९० ग्राम लागूऔषध थियो । उनले भारतबाट उक्त लागूऔषध ल्याएको प्रहरीको अनुमान छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाइएको हो ।

उनको दाहिने खुट्टामा गोली लागेको छ भने राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । लागूऔषध कारोबारी राईले आफूसँग डिल गर्ने व्यक्तिहरू प्रहरी भन्ने थाहा पाएपछि कटुवा पेस्तोल ताकेका थिए। त्यसपछि केहीबेर घम्साघम्सी भएपछि प्रहरीले गोली चलाएको थियो । 

‘उनले कटुवा पेस्तोल ताकेपछि हामीले गोली चलाएर नियन्त्रणमा लिएको हो,’ घटनास्थलमा खटिएका एक प्रहरीले भने, ‘उनले लागूऔषध कारोबार गर्छन् भन्ने सूचना प्रहरीलाई केही दिनअघि नै आएको थियो।’

गत जेठमा पनि सिनामङ्गलमा लागूऔषध ओसारपसारमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको थियो । केही समयअघि भक्तपुरमा पनि प्रहरीले गोली हानेर लागूऔषध कारोबारीलाई पक्राउ गरेको थियो । 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १४:५०
Weather Update