
काठमाडौं— धादिङको कृष्णभीरमा मृत फेला परेका कलाकार प्रकाश ढकाल प्रकरणमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रका अनुसार ढकाललाई बेनिघाट-रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरको सडकमा रातिको समयमा अलपत्र छाडेर हिँड्ने बस चालकसहित चारजनालाई पक्राउ गरिएको हो ।
ढकाल गत मंसिर ३ गते मृत फेला परेका थिए । एसपी मिश्रका अनुसार पक्राउ परेका चारैजना विरुद्ध कर्तव्य ज्यान मुद्दा अघि बढाइएको छ ।
रातको समयमा काठमाडौं आइरहेको बसका साहु, चालक र सहचालकसँग विवाद भएपछि ढकाललाई कृष्णभीर नजिकैको सडकमा छाडेर उनीहरू हिँडेका थिए ।
एसपी मिश्रका अनुसार उनीहरूले रातको समयमा अलपत्र छाडेर हिँडेकै कारण ढकालको मृत्यु भएको थियो । तर मृत्युको कारणबारे खुलेको छैन । पक्राउ परेकाहरूसँग बयान र अनुसन्धान भइरहेको एसपी मिश्रले बताए ।
ढकालको शव त्रिशूलीमा र्याफ्टिङ गर्नेहरूले खोँचमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव निकालेर पोस्टमार्टम गरिएको थियो । स्याङ्जाको चापाकोट नगरपालिका-७ घर भएका ढकाल गृहजिल्लाबाट मंसिर २ गते शुक्रबार काठमाडौंतर्फ लागेका थिए ।
उनी काठमाडौं आइनपुग्दै बेपत्ता भएपछि खोजीका लागि आफन्तले प्रहरीमा निवेदन दिएका थिए । उनको शरीरमा चोट देखिएको थियो । मोबाइल पनि उनको साथमै फेला परेको थियो ।
लोकदोहोरी प्रतिष्ठान शाखा यूएईको पूर्व सहसचिवसमेत रहेका ढकालले डेढ दर्जनभन्दा बढी म्युजिक भिडिओमा अभिनय गरेका थिए । पछिल्लो सयम ढकाल लालीगुराँस अनलाइनमा रङ्ग पत्रकारका रूपमा कार्यरत थिए ।













