
काठमाडौं— नेपालीलाई रुसी सेनामा भर्ती गराइदिन्छौं भन्दै ठगी गर्ने गिरोहका १२ जनालाई काठमाडौं प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।
काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्रबहादुर खत्रीका अनुसार छानबिनपछि विभिन्न स्थानबाट पक्राउ गरी सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेमा दीपेन परियार, क्षितिज गिरी, सुभास लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी छन् ।
उनीहरूको साथबाट विभिन्न व्यक्तिहरूको राहदानी, रकम र लेनदेनका कागजातहरू बरामद भएको एसएसपी खत्रीले बताए । उनले भने, ‘उहाँहरूबाट पासपोर्टहरू, नगद र कागजात लगायतका दस्तावेजहरू बरामद भएका छन् ।’
पक्राउ परेकाहरूलाई कारबाहीका लागि मुद्दा चलाउन अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयबाट म्याद थपको अनुमति लिइएको जानकारी उनले दिए ।
रुस–युक्रेन द्वन्द्व चलिरहँदा नेपाली रुसी सेना रहेको पुष्टि भएको थियो । अवैध भर्तीको खबर बाहिरिएपछि प्रहरीले त्यसरी पठाउने गिरोहको खोजी थालेको जनाएको छ ।