News Griha :: न्यूजगृह
नेपाली युवालाई रूसी सेनामा पठाउने गिरोहका १२ जना पक्राउ

काठमाडौं— प्रहरीले नेपालीलाई अवैध बाटोबाट रुसी सेनामा भर्ती हुन पठाउने गिरोहका १२ जनालाई पक्राउ गरेको छ ।  

काठमाडौंको विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरिएको जानकारी प्रहरी स्रोतले दाबी छ । स्रोतले भन्यो, 'हालसम्म १२ जना पक्राउ परेका छन् । अझै अनुसन्धान र खोजी जारी छ ।'

पक्राउ पर्नेमा हरि बिक र सुजाता दाहाल  छन् । उनीहरु नै मुख्य नाइके रहेका प्रहरीको दाबी छ । बाँकी १० जनाको परिचय भने स्रोतले खुलाउन चाहेन ।  

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले नेपालीलाई भारतको दिल्ली हुँदै रुस पठाउने गरेको पाइएको छ । नेपालस्थित भारतीय दुतावासबाट ‘नो अब्जेक्सन लेटर’ बनाएर दिल्लीबाट रुस पठाउने गरेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको दाबी छ । 

नेपाल प्रहरीले भारतीय दुतावाससँग समेत यस विषयमा छलफल गरेको छ । 

मानव तस्कर समूहले रुस पठाउन प्रतिव्यक्ति १२ लाख रुपैयाँ असुल गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सोमबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूसी सेनामा भर्ती हुन ५३ नेपाली दिल्ली हुँदै रुस गएको सूचना आफूसँग रहेको बताएका थिए । परराष्ट्र मन्त्रालयले सोमबार रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार, गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रूपक कार्की, पोखराका देवान राई, स्याङ्जाका पृतम कार्की, दोलखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तानको मृत्यु भएको छ ।

प्रहरीले मृत्यु भएका दुई जनालाई समेत पक्राउ परे कै समूहले पठाएको दाबी गरेको छ । यसरी अवैध बाटोबाट रूस पठाउने समूहमा केही नेपाली सेनाका अवकासप्राप्त व्यक्तिहरू संलग्न समेत रहेको प्रहरीको दाबी छ । रुस र युक्रेनको युद्धपछि नेपालीहरू अवैध रुपमा रुस पुगेर रुसी सेनामा भर्ती हुन थालेका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १८:३८
Weather Update