News Griha :: न्यूजगृह
आर्थिक वृद्धिको सरकारी लक्ष्य पूरा नहुने, यो वर्ष ५ प्रतिशत मात्रै

काठमाडौं— राष्ट्र बैंकले नेपालमा यो वर्ष आर्थिक वृद्धि ४ देखि ५ प्रतिशतमै सीमित हुने प्रक्षेपण गरेको छ । 

संघीय संसद्को अर्थ समितिमा मौद्रिक नीतिको हालसम्मको कार्यान्वयन र उपलब्धि विवरण पेस गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशत मात्र आर्थिक वृद्धि आकलन गरिएको जानकारी दिएका हुन् । 

उनले भने, ‘आर्थिक वर्ष २०८०/८१ को बजेटले, ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । चालु आर्थिक वर्षमा पर्यटक आगमन र विप्रेषण आप्रवाह उल्लेख्य रुपमा बढेको, ब्याजदर घटिरहेको र कर्जा प्रवाह बढ्न सुरु गरेकोले चालु आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने आकलन गर्न सकिन्छ ।’

गत वर्ष ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेकोमा २.१६ प्रतिशतमा खुम्चिएको थियो। सरकारले, आर्थिक वर्ष २०८०/०८१ को बजेटमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।

त्यस्तै उनले तरलतामा आएको सुधारले कर्जा प्रवाह थप बढ्ने विश्वास व्यक्त गरे ।  ‘तरलतामा आएको सुधार र ब्याजदर घट्दै गएकोले कर्जा प्रवाह थप बढ्ने देखिन्छ । मौद्रिक नीतिको लचक कार्यदिशा र तरलतामा आएको सुधारले  अल्पकालिक र दीर्घकालिक ब्याजहरू घटिरहेका छन्,’ उनले भने । 

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १६:५४
Weather Update