काठमाडौं— एनसेल आजियटाको शेयर खरिदबिक्री प्रक्रियामा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले मागेको स्पष्टीकरणको जवाफ एनसेलले पठाएको छ ।
मंसिर १३ मा घोषणा भएको एनसेलको ८० प्रतिशत शेयर स्वामित्व हस्तान्तरण प्रक्रिया सम्बन्धमा प्रश्न उठाउँदै प्राधिकरणले मंसिर १४ मा एनसेललाई पत्र पठाएको थियो ।
प्राधिकरणका अनुसार एनसेलले मंगलबार त्यसको जवाफी पत्र पठाएको र यस विषयमा विस्तृत अध्ययनपछि मात्रै आफ्नो भनाइ सार्वजनिक गर्ने प्राधिकरणको तयारी छ ।
प्राधिकरणले नेपाल दूरसञ्चार प्राधिकरण विनियमावली २०७६ को ४ (क) अनुसार अनुमति प्राप्त व्यक्तिले आफ्नो शेयर खरिदबिक्री गर्नपूर्व स्वीकृति प्राप्त गर्नुपर्ने र दूरसञ्चार नियमावली २०५४ को १५ (ट) बमोजिम चुक्ता पुँजीको ५ प्रतिशतभन्दा बढी खरिदबिक्री गर्नपूर्व प्राधिकरणबाट स्वीकृति लिनुपर्ने व्यवस्था भएको र सोको पालना नगरिएको भन्दै स्पष्टीकरण मागेको थियो ।
प्राधिकरण अध्यक्ष पुरुषोत्तम खनालले यसअघि एनसेल शेयर खरिदबिक्री सम्बन्धमा कुनै आधिकारिक जानकारी नआएको र दूरसञ्चार नियामकसँगको प्रक्रिया पालना नभएको बताएका थिए ।
एनसेलले प्राधिकरणलाई पठाएको जवाफमा प्राधिकरणका ऐन नियम कम्पनीले पालना गर्दै आएको र शेयर खरिदबिक्रीको लागि पनि सहमति लिने बताएको छ ।
एनसेलले पठाएको पत्रमा आजियटा यूके र स्पेक्ट्रलाइट कम्पनीबीच शेयर खरिदबिक्रीका लागि भएको द्वीपक्षीय सम्झौता समेतका कागजात तदारुकताका साथ सम्बन्धित पक्षबाट संकलन गर्ने क्रममै रहेको उल्लेख छ ।
‘नियमावली र विनियमावलीका प्रावधान पूर्ण पालना गर्न सदा झैँ आजियटा प्रतिबद्ध रहेको छ,’ एनसेलको पत्रमा भनिएको छ, ‘दूरसञ्चार प्राधिकरण विनियमावली २०७६ को विनियम ५ मा उल्लेखित कागजात संकलन हुनासाथ तत्काल ती संलग्न गरी प्राधिकरण समक्ष शेयर खरिदबिक्रीको स्वीकृतिका निवेदन पेश गरिनेछ ।’
एनसेलको जवाफ