प्रधानमन्त्री चढेको बुद्ध एअरको जहाज जनकपुर अवतरण गर्न नसकेपछि काठमाडौं फर्कियो

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चढेको बुद्ध एअरको जहाज जनकपुर विमानस्थलमा अवतरण गर्न नसकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा फिर्ता भएको छ ।
उक्त जहाजमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि थिए। मंगलबार बिहान ८ः३५ मा त्रिभुवन विमानस्थलबाट उडेको जहाज मौसम खराबका कारण जनकपुर विमानस्थलमा अवतरण गर्न सकेको थिएन ।
जनकपुरमा भिजिबिलिटी कम भएपछि काठमाडौं फिर्ता भएर ९ः४८ बजे उक्त जहाज अवतरण भएको विमानस्थलका प्रवक्ता सुवास झाले बताए ।
प्रधानमन्त्री दाहाल भने काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर चढेर बर्दिबास गएका छन् । प्रधानमन्त्री दाहाल पार्टीको आन्तरिक बैठक र प्रशिक्षण कार्यक्रममा सहभागी हुन बर्दिबास पुगेका हुन् । उनी आजै काठमाडौं फर्कनेछन् ।
यो पनि पढ्नुहोस
पूर्वी नेपालमा हवाई उडान/अवतरण प्रभावित हुनसक्ने
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८० ११:३५













