News Griha :: न्यूजगृह
पूर्वी नेपालमा हवाई उडान/अवतरण प्रभावित हुनसक्ने 

काठमाडौं— हाल नेपालमा पश्चिमी वायु र भारतको  उत्तर प्रदेशको आसपासमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव  रहेको छ ।

देशको पूर्वी भूभागमा बङ्गालको खाडीको मध्यपश्चिम क्षेत्र आसपास विकसित ‘मिचाउङ’ नामक शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको छ । जसका कारण मौसममा बदली आएको छ । 

‘मिचाउङ’को प्रभाव पूर्वी भागमा बढी रहेको मौसमविद् सञ्जीव अधिकारी बताउँछन् । 'मिचाउङको असर पश्चिम र मध्य नेपालमा खासै पर्ने देखिँदैन,' उनले भने, 'तर पूर्वी नेपालमा भने यसले हावाको गति बढाइरहेको छ ।'

हावाको गति बढाउँदा यसले पूर्वी नेपालका भद्रपुर र विराटनगर विमानस्थलबाट हुने उडान प्रभावित हुनसक्ने मौसमविद् अधिकारी बताउँछन् । तीव्र गतिमा हावा चल्ने भएकाले विमान उडान र अवतरणमा समस्या हुनसक्ने उनको भनाइ छ । 

'मिचाउङको प्रभाव र भोलि रहनेछ । त्यसपछि यसको प्रभाव कम हुँदै जानेछ,' उनले भने, 'हावाको गति बढाए पनि यसले पानी भने पार्ने छैन ।'

 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ०७:१७
Weather Update