News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

काठमाडौं— स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले चार वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउन लागेको टेलिकम कम्पनी एनसेल गलत मनसाय राखेर खरिदबिक्री भएको दाबी गरेका छन् ।

काठमाडौंमा आइतबार पत्रकार  सम्मेलन गर्दै उनले गलत मनसायका साथ ६ अर्बमा एनसेलको खरिदबिक्री भएको दाबी गरेका हुन् । साथै, एनसेल खरिदबिक्री यूकेमा गरेर नेपालमा तिर्नुपर्ने पुँजीगत लाभकर (क्यापिटल गेन ट्याक्स) छली गरिएको आरोप उनले लगाए । खरिदबिक्रीमा ठूलो चलखेल भएको उनको दाबी छ ।

शेयर बिक्री शंकास्पद रहेको उनले बताए । उक्त शेयर ५० मिलियन डलरमा बिक्री भएको सत्य हो भने आफू ६० मिलियन डलर दिन तयार रहेको उनले बताए । एनसेलको शेयर बिक्रीको सम्झौतापत्रमा पाँच मिलियन डलर खरिद भएको ६ महिनापछि र अरु बाँकी ४५ मिलियन डलर चार वर्षभित्र भुक्तानी गर्ने सहमति रहेको उनको दाबी छ । सम्झौता शंकास्पद रहेको बताउँदै उनले यस्तो प्रकारको खरिदबिक्री हुन नसक्ने दाबी गरे । 

Prabhu Bank

‘जम्मा पाँच मिलियन किनेको ६ महिनापछि दिँदा हुने, बाँकी ४५ मिलियन डलर छ, त्यो चार वर्षमा दिँदा हुन्छ । यस्तो खरिदबिक्री कहीँ पनि हुँदैन । यो सबै ठगी हो,’ उनले भने । 

यसभन्दा अघि पनि एनसेलबारेमा आन्तरिक राजस्वका महानिर्देशकले क्यापिटल गेन ट्याक्स लिनुपर्दैन भनेको र इनटरनेशनल ट्रिब्युनल बाट नेपालले मुद्दा जितेपछि ४३ अर्ब नेपाललाई राजस्व आएको घटना स्मरण गराउँदै उनले अहिलेको खरिदबिक्री पनि गलत मनसायका साथ भएको दाबी गरे । 

आजियाटाका ग्रुप सीइओले आफूसँग नेपालका नेताहरूका कारण नै विदेशी लगानी भित्रिन नसकेको भनेको पनि सांसद सिंहले स्मरण गरे । ‘केही बिजनेस माफिया, राजनीतिक दलका नेताहरू, सरकारका अधिकारीहरू मिलेर यो काम भएको हो । एक वर्षदेखि यो नेपाल सरकारलाई सन् २०२९ मा कसरी ह्याण्ड–ओभर नगर्ने, त्यसका लागि प्रयास भयो,’ उनले भने । 

६ अर्बमा कम्पनी बिक्री भए पनि एनसेलले नेपालका तीन वटा बैंकबाट ४० अर्ब ऋण लिएको उनले बताए । एनसेलका भ्यालुएसन ६ अर्बमात्रै हो भने ऋण प्रवाह गर्ने बैंकहरूलाईसमेत कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताए । 

एनसेलले नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आइएमई र स्ट्यान्डर्ड चार्टर्स बैंकबाट ४० अर्ब ऋण लिएको उनले दाबी गरे । एनसेल ६ अर्बमा बिक्री भयो भनेर पत्याउन नसकिने उनले बताए । नेपालको कर छली गर्नलाई सरकारकै मिलेमतोमा यूकेमा सो सम्झौता भएको उनले बताए । यूकेसँग नेपालको दोहोरो कर सम्झौता रहेको उनले बताए । सोही सम्झौताको फाइदा उठाउँदै खरिद बिक्री सम्झौता यूकेमा भएको उनले बताए । 

उनले एनसेलको २० प्रतिशत शेयरधनी सतिशलाल आचार्यको नाममा रहेको सुनिभेरा क्यापिटल भेन्चरको नाममा २०१७ देखि २०२३ सम्म १५० मिलियन डलर डिभिडेन्ट लगेको दाबी गरे । २० प्रतिशतवालाले त्यति धेरै डिभिडेन्ट लगेको कम्पनीको शेयर ५० मिलियनमा बिक्री हुन्छ भनेर पत्याउन नसकिने उनको भनाइ छ । 

आजका दिनमा एनसेलको भ्यालुएसन दुई खर्बभन्दा बढी रहेको उनको दाबी छ । एनसेलको मुद्दा अझै सर्वोच्च अदालतमा विचाराधीन रहेको बताउँदै उनले आगामी १९ गते तोकिएको पेसीमा चलखेल गरेर ५७ अर्ब कर छली गर्न खोजेको उनको दाबी छ । 

दूरसञ्चार नियमावलीमा ५ प्रतिशतभन्दा बढी शेयर बिक्री गर्नका लागि दूरसञ्चारबाट स्वीकृति लिनुपर्ने व्यवस्था रहेको उनले बताए । आजियाटा बिक्रीको सम्झौता हुँदा उक्त स्वीकृति पनि नलिइएको उनको दाबी छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १७:४०
Weather Update