काठमाडौं— मलेसियन कम्पनी आजिएटा ग्रुप बर्हादले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर बिक्री गरेको छ ।
एनसेलको बाँकी शेयर बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेले खरिद गरेको हो । स्पेक्ट्रलाइटका सञ्चालक सतिशलाल आचार्य हुन् । एनसेलमा २० प्रतिशत सेयर भएको सुनीभेरा क्यापिटल भेन्चर प्रालिमासमेत आचार्य परिवारको स्वामित्व छ ।
आजिआटाले आफ्नो शेयर ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोडमा स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेचेको हो । तर, सन् २०२९ सम्म एनसेलले पाउने लाभांश भने आजिआटाले नै पाउने शेयर खरिद सम्झौतामा उल्लेख छ ।
गत बुधबार व्यावसायिक चुनौतीहरू बढ्दै गएपछि बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख थियो । नेपालमा व्यवसायीक चुनौतीहरू दिनप्रतिदिन बढ्दै गएपछि बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको आजिएटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले बताएका थिए ।
दूरसञ्चार क्षेत्रका जानकारहरूले भने एनसेलको सकिनै लागेको अनुमतिपत्रको मुद्दा, नवीकरणका लागि चाहिने ठूलो धनराशि र दूरसञ्चार कम्पनीको घट्दो आम्दानीका कारण आजिएटा बाहिरिएको अनुमान गरेका छन् । २०६१ भदौ १६ मा एनसेलले जीएसएम मोबाइल सेवाका लागि अनुमति प्राप्त गरेको थियो ।